राष्ट्रपति भण्डारी र अध्यक्ष नेपाल धेरै समयपछि एकै मञ्चमा



काठमाडौँँ। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका नेता माधवकुमार नेपाल अध्यक्ष रहेको संस्थाको कार्यक्रममा नेताहरुलाई सम्मान गरेकी छिन्।

मंगलबार राष्ट्रपति भवनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार, २०७७-०७८ वितरण कार्यक्रममा कार्यक्रममा राष्ट्रपतिले उहाँहरूलाई सम्मानित एवम् पुरस्कृत गरेकी हुन्। माधव नेपाल पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्षसमेत रहेका छन्।

नेपाली वामपन्थी आन्दोलनका अग्रज मानिने स्वर्गीय पुष्पलाल श्रेष्ठका सहयोद्धा नेतालाई पुरस्कृत एवम् सम्मान गरेकी हुन्। राष्ट्रपति भण्डारीले पुष्पलाल राष्ट्रिय पुरस्कार २०७८ बाट तीनजना धनेन्द्र बस्नेत, डा। ढाकाराम सापकोटा र जगन्नाथ आचार्यलाई प्रदान गरेकी छिन्। सोही अवसरमा राष्ट्रपति भण्डारीले पुष्पलाल राष्ट्रिय पुरस्कार २०७७ बाट मोहनचन्द्र अधिकारी, प्राध्यापक कृष्णप्रसाद पोखरेल र पवित्र घर्तीलाई सम्मानित गरेकी छिन्। पुरस्कारको राशी १ लाख रुपैयाँ र सम्मान पत्र रहेको छ।

कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले समतामूलक राज्य व्यवस्था निर्माण गरेर मात्रै समाजवादको सपना साकार हुने बताएकी छिन्। कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृतिमा विभिन्न विधामा क्रियाशील व्यक्तित्व एवम् स्रष्टाहरुलाई सम्मानित गर्नु सराहनीय भएको बताइन्। लोकतान्त्रिक एवम् वाम आन्दोलनमा पुष्पलालको भूमिका अविस्मरणीय रहेको उल्लेख गरिन्।

कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले वाम लोकतान्त्रिक आन्दोलनमा पुष्पलालको योगदानको चर्चा गरेका थिए। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल र नेपाली जनताको मुक्तिका लागि पुष्पलाल श्रेष्ठको योगदानको सम्मान गर्दै सरकारले पुष्पलाल राष्ट्रिय पुरस्कार वर्षेनी प्रदान गर्दै आएको बताए।

नेपालको राजनीतिक आन्दोलन तथा खोज अनुसन्धान र लेखन कार्यमा योगदान गरेका व्यक्ति वा संस्था, नेपाली समाजको इतिहास, राजनीतिक आन्दोलनको इतिहास, नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास, साहित्य, संस्कृति र विज्ञान प्रविधि क्षेत्रको अनुसन्धान र खोजका तीन विभिन्न विधामा तीनजना व्यक्ति वा संस्थालाई पुष्पलाल राष्ट्रिय पुरस्कारद्वारा सम्मान गर्ने कार्यक्रम २०६८\०६९ देखि हरेक वर्ष मन्त्रालयले निरन्तर गर्दै आइरहेको छ।