काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यले लेखेका कतिपय ग्रन्थमा आशङ्का गर्ने ठाउँ रहेको बताएका छन्।
आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्ती तथा गुरु पूर्णिमाका अवसरमा बुधबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले उदाहरणका रूपमा घाँसी कवितालाई लिन सकिने बताए।
उनले घाँसी भन्ने शब्द त्यसबेला तनहुँमा चल्थ्यो चल्दैनथ्यो भन्दै घाँसी शब्द सहरमा चल्ने गरेको बताए। ‘घाँसी कविता भानुभक्तले तनहुँमा बसेर लेखे की? मोतिराम भट्टले बनारसमा बसेर लेखे? यसमा आशङ्का गर्न सकिन्छ?’ओलीले प्रश्न गरे।
उनले भानुभक्तको रामायणको अनुवाद भने उनी आफैले गरेको बताए। ‘यसको रचना कोही तनहुँमा बसेर भयो, कोही जेलमा बसेर भयो। मोतिराम भट्टका हजुरबाका घरमा आएर भानुभक्तलाई बस्ने गरेको भन्दै मोतिराममार्फत भानुभक्तका ग्रन्थहरू आएको बताए।
मोतिराम भानुभक्तप्रति गुरुभक्तप्रति बढि निर्देशित र अभिप्रेरित भएको ओलीको भनाइ छ। भानुभक्तले शास्त्रलाई केही पण्डितहरूबाट खोसेर जनमानसमा ल्याएको उनले दाबीसमेत गरे। ओलीले संस्कृत भाषा बोलीचालीको नभएर सम्भ्रान्त भाषा भएको पनि बताए।
त्यस्तै अध्यक्ष ओलीले गुरु वचनलाई प्रमाण मान्ने गरिएको भन्दै गुरु वचनका अघि शास्त्र पनि असान्दर्भिक हुन सक्ने बताए। ‘गुरु असान्दर्भिक हुन सक्दैनन्। गुरु देवतातुल्य हुन्छन्’, ओलीले शिक्षित समाज निर्माण गर्नु अहिलेको आवश्यकता रहेको बताए । ‘शिक्षित व्यक्ति आफ्ना लागि मात्र नभएर समाजका लागि गुणवान् हुनुपर्छ। नत्र शिक्षा पूर्ण हुँदैन’, ओलीको भनाइ छ।