काठमाडौँ। भानुभक्त आचार्य (१८७१ असार २९–१९२५ असोज ६) कसरी आदिकवि कसरी बने ? उनले नेपाली साहित्यमा दिएको विशिष्ट योगदान के हो ? आदिकवि बनाउनमा कसकसको योगदान छ भनेर खोज्नु भानुजयन्तीको अवसरमा सान्दर्भिक हुन्छ ।
मैथिली भाषाका महाकवि विद्यापति भानुभक्तभन्दा अघिका कवि हुन्। तुलसीदासले वाल्मीकीय रामायणलाई नै अवधिमा अनुवाद गरिसकेको तथ्य पनि इतिहासले देखाइसक्यो। उनका समकालीन कविहरूमा सुवानन्द दास, सन्तज्ञान दिलदास (१८७८ इलाम) लगायत अन्य धेरै कविको नाम आउँछ । तर उनीहरू आदिकवि हुन सकेनन् । भानुभन्दा धेरै प्रगतिशील कविहरू पनि तत्कालीन समयमा थिए । के कारणले उनी आदिकवि बन्न पुगे, उनको विशिष्ट योगदान के हो लगायत विषयमा केन्द्रीत रही भानु जयन्तीका अवसरमा डा. सुकुम शर्मासँग रातोपाटीका लागि शिखर मोहनले गरेको वार्ता यहाँ प्रस्तुत छ:
तत्कालीन कविहरूमा भानुभक्त कत्तिको जनपक्षीय कवि हुन् ?
तत्कालीन कविहरू कालसापेक्ष हेर्दा भाषा प्रयोगका दृष्टिले बढी सरस र सहज प्रयोक्ता हुन् । विचारका दृष्टिले समकालीन कविमा भानुभक्त त्यति प्रगतिशील र जनपक्षीय हुन् जस्तो देखिँदैन । किनभने उनकै समकालीन कवि ज्ञानदिल दासले ‘उदयलहरी’ लेख्दाखेरि समाजको जति आलोचना गर्छन्, भानुभक्तमा त्यो पक्ष अलि कमजोर देखिन्छ ।
समाज सापेक्ष विचारका दृष्टिले ज्योतिष विद्याका लागि त्यतिखेर ज्योतिषहरूले औँला मात्र भाँच्छन्, ब्राह्मणहरु बैली बाख्रा खोजेर हिँड्छन् भनेर जसरी ब्राह्मण समाजको विरोधमा ज्ञानदिल दास बोल्न सक्छन् भानुभक्त त्यसरी समाजमा कसैलाई छोएर बोल्न सकिरहेको देखिँदैन ।
त्यस्तै यदुनाथ पोखरेलले विदेशीहरूको विषयमा जति कुरा उठाए, त्यो किसिमको कुरा भानुभक्तमा देखिँदैन । तर केही फुटकर कवितामा जुन समाजको पक्षमा आलोचना छ, त्यसले उनलाई जनपक्षीय जस्तो देखाउँछ । ‘डिट्ठा विचारीहरूको’, ‘अनि किन भन्छन् यी भोलि’ जस्ता कवितामा ठीकै छ, नभए उहाँको चिन्तन हेर्दा तत्कालीन समाजले पचाएकै र त्यही समाजअनुकूलको चिन्तनलाई अगाडि बढाएको देखिन्छ । भाषाको जुन पकड हो, त्यो पकड र मिठास अरू कविहरूले दिन सकेनन् । त्यसैले भानुभक्त अगाडि बढेका हुन् कि जस्तो लाग्छ ।
भनेपछि भाषाकै पकडले भानुलाई आदिकवि बनायो त ?
हो, रामायणमा मौलिक नयाँ कुरा त भएन तर त्यो कृति नेपालीपन लिएर आयो । सजिलो र सरस ढङ्गले आयो । त्यसले नै भानुभक्तलाई आदिकवि भानुभक्त बनायो ।
उनलाई सत्ताले खोजेको त धेरै पछि हो । दार्जिलिङमा भएको साहित्य सम्मेलनले भानु विशेषाङ्क निकाल्ने भन्यो । अनि जुद्ध समशेरले आदिकवि भने पनि हुन्छ भनेर जब राज्यले लालमोहर लगाइदियो, त्यसपछि मात्रै उनलाई सत्ताका कवि भनेजस्तो कुरा गर्छन् तर उनी सत्ताको कवि हुन् जस्तो लाग्दैन ।
उनका मौलिक कृतिमा बधु शिक्षा हेर्यौँ भने नीतिवादी बढी देखिन्छ । त्यसमा बुहारी तह लगाउनुपर्छ, लक्षणयुक्त हुनुपर्छ भन्नेजस्तो किसिमको देखिन्छ । तत्कालीन समाजअनुकूलको छाप अथवा विचार त्यसमा देखिन्छ । समाजमा त्यसरी होइन, यसरी अगाडि बढ्न सकिन्छ भन्ने किसिमको धारणा आएको देखिँदैन । यो स्थितिबाट हेर्दा उहाँको भाषा र शैली पक्ष नै मिठासपूर्ण हो । त्यो चाहिँ समयको आवाजअनुसार आएको हो भन्न सकिन्छ ।
–भानुभक्तले सत्ताको गुणगान मात्र गाए भन्ने आरोप पनि लगाउँछन् नि ? त्यस्तो झल्को उनका कृतिहरूमा पाइन्छ त ?
–त्यस्तो कहीँ भेटिँदैन । उनलाई सत्ताले खोजेको त धेरै पछि हो । दार्जिलिङमा भएको साहित्य सम्मेलनले भानु विशेषाङ्क निकाल्ने भन्यो । अनि जुद्ध समशेरले आदिकवि भने पनि हुन्छ भनेर जब राज्यले लालमोहर लगाइदियो, त्यसपछि मात्रै उनलाई सत्ताका कवि भनेजस्तो कुरा गर्छन् तर उनी सत्ताको कवि हुन् जस्तो लाग्दैन । किनभने मोतीराम भट्टले राजा, महाराजाभन्दा कविकै जीवनी उत्तम हुन्छ भनेर खोजेको विषयलाई हेर्दा उनी सत्ताकै नजिक भएर सत्ताकै आशीर्वाद लिएर लेखेका हुन् भन्ने कहीँ देखिँदैन ।
तर उनले रोजेको विषय भनेको रामायण लोकप्रिय नै भयो । तत्कालीन सामाजिक व्यवस्थाअनुसार नै त्यसको आलोचना गरेर अगाडि बढ्नुभन्दा पनि त्यही समाजलाई अनुकूल हुने किसिमको कृतित्व कसरी दिऊँ भन्ने किसिमबाट नै भानुभक्तलाई हेर्नुपर्ने हुन्छ ।
–उनी जङ्गबहादुरका समकालीन, कुनै कृतिमा जङ्गबहादुरबारे केही लेखिएको भेटिन्छ ?
त्यस्तो केही छैन । उनको कृष्णबहादुरमा राणालाई रिझाउने क्रममा एउटा बन्दुकको कविता भने छ, विद्वान्ले यसरी बेच्नु हुँदैन, जानेर दिनुपर्छ भनेका प्रसङ्गहरू आउँछन् । त्यसबाहेक उनले तत्कालीन राज्य व्यवस्थालाई छोएर लेख्न आँट गरेको पनि देखिँदैन ।
उनले मुद्दा लिएर अदालत धाउँदा ‘क्यार्न भन्छन् भोलि’ भनेर ‘भोलि भोलि भनीकन घर वितिगयो बक्सियोस् आज झोली’ भनेर आशु कविता लेखेको भनेर जीवनीसँग मोतीरामले जोडेको कविता हो । उनैले लेखेर राखेको भन्ने कुरा चाहिँ होइन । यी मोतीरामले भानुको जीवनी लेख्ने क्रममा अगाडि बढाएका कुरा हुन् ।
–भानुभक्तलाई भाषिक एकीकरणका सूत्रधार पनि मानिन्छ । यसबारे के भन्नुहुन्छ ?
–त्यस्तो होइन । त्यो इतिहास भाषाका सन्दर्भबाट अलिकति बाङ्गिएको छ । भानुभक्तले नै भाषिक एकीकरण गरे भन्ने छ, उनको भाषा निकै मिठासपूर्ण थियो र मानक भाषा निर्माण गर्ने आधार तयार भएको चाहिँ हो ।
हामीले भाषाका सन्दर्भबाट हेर्यौँ भने उपत्यकामा गोपाल वंशावली धेरै पुरानो छ । त्यसमा हेर्दा खस भाषा, मैथिली भाषा र नेपाल भाषाको प्रयोग त्यो बेला नै भएको देखिन्छ ।
भानुभक्तको त प्रसङ्ग नै छोडौँ न, पृथ्वीनारायण शाहभन्दा अघि नै जयस्थिति मल्लभन्दा पनि अझ अघि नै उपत्यकामा नेपाली भाषाले प्रवेश पाइसकेको र प्रयोग भइसकेको भेटिन्छ । कस्तो स्थिति थियो भने तत्कालीन समयमा समाजमा नेपाली प्रयोग नगर्ने हो भने त्यस किसिमको भाषिक आदान प्रदान हुन सक्ने स्थिति थिएन भन्ने कुरा पनि पाइन्छ । त्यसैले यो अलि खोजीको विषय हो ।
मोहन खनालले अहिले एउटा लेख ‘गरिमा’मा लेख्नु भएको छ । त्यसमा पर्वत राज्यमै एउटा मलय बम भन्ने राजाकै समयमा नेपाली भाषामा महाकाव्य स्तरको काव्य शृङ्गारिक धाराको प्रयोग गरेर लेखेको भन्ने कुरा आइसकेका छन् ।
त्यो सुवानन्द दासभन्दा पनि धेरै अगाडिको हो । यस्तो किसिमको खोजले नेपाली भाषा धेरै अगाडि नै प्रयोगमा थियो भन्ने देखिन्छ ।
यसपछि ज्ञानमणि नेपालको खोजले उदयनन्द अज्र्यालको पृथ्वीन्द्रोदय भन्ने महाकाव्य नै आएको देखाएको छ । यी प्रसङ्गबाट हेर्दा भाषिक एकीकरण भन्ने कुरा पछि मात्र भएको हो । जब मोतीरामले उनका कृति प्रचारमा ल्याए अनि मात्र भएको हो । मोतीरामको प्रयासपछि मात्र राज्यले पहल गरेपछि भएको कुरा हो । त्यस किसिमको एकीकरणका लागि के के कार्य भयो भनेर खोजीको विषय नै हो भन्ने लाग्छ ।
–घाँसी कवितामा परोपकारको झिल्को देख्नुहुन्छ कि हुन्न ?
मोतीरामले भानुभक्तको जीवन चरित्र भन्ने पुस्तकको अध्ययन गरी त्यसमा जीवनचरित्रको भाषा के हो र जीवनी के हो भनेर मैले खोजी गरेको छु । समालोचक मोतीराम भट्ट भन्ने एउटा किताब छ । त्यसमा जीवनीभित्रका पाठहरूमध्ये एकदम विवादित पाठ हो घाँसीसँगको भेट ।
भानुभक्तले यो कविता लेखे भनिन्छ तर तत्कालीन समयमा पहाडमा घाँस बेच्ने चलन थियो कि थिएन, नाम राख्नका लागि घाँसीले अर्ती दियो भनेर भनिन्छ । अहिले पनि तनहुँमा घाँसी कुवा त छँदैछ । यो एउटा अभिश्रुति भनिन्छ नि, त्यस्तै जोडेका हुन् कि मोतीरामले भन्ने पनि छ ।
जीवनी लेख्ने क्रममा तत्कालीन समयमा कुनै एउटा प्रसिद्ध व्यक्तिलाई यसो गरेर अगाडि बढे भन्ने छ नि । त्यसमा घाँसीले त पानीका लागि घाँसी कुवा खनाउँछु भन्यो भने म जस्तो व्यक्तिले पनि कीर्ति नराखी कसरी मर्नु भन्ने उत्प्रेरणा प्राप्त भएको हो भन्ने किसिमको कुरा आएको हो । उनैले परोपकार गर्नका लागि गरेका हुन् भन्ने कुरा त भएन । तर कविलाई साहित्य साधनाको प्रेरणाको रूपमा, कीर्ति राख्ने प्रेरणाका रूपमा लिन सकिन्छ भनेर धेरै कविले लेखेका छन् । यो एकदमै विवादित छ र धेरै आलोच्य विषय पनि हो यो ।
तर तत्कालीन समाजमा पुरुषप्रधान र पितृसत्ताको कस्तो स्थिति थियो भनेर हेर्नलाई यो राम्रो पाठ हो भन्न सकिन्छ । समाज कति परिवर्तन भयो भनेर हेर्नका लागि पनि यो एउटा उपयुक्त आधार हुन सक्छ ।
–अहिले नारीवादी दृष्टिकोणबाट भानुलाई धेरैले गाली गर्छन् नि, किन ?
दुई सय वर्ष अगाडिको समाजलाई अहिलेको आँखाले हेरेर हुँदैन । अहिले धेरै कुरा आए । जस्तो ज्ञान दिलदासले तत्कालीन समयमा गरेका कुरा र तत्कालीन समाज, ऐन, कानुन र अरू कविहरूले उठाएका विषयबाट उनले दिएको कुरा कति प्रगतिशील हो भनेर तुलनीय त हुन्छ नै । तर अहिलेका आँखाले उनी बेठीक छन् भन्नु उपयुक्त हुन्न ।
त्यतिबेला उनको वधुशिक्षा कृतिलाई लिएर समाजमा नारीहरूलाई तह लगाउने र वधुशिक्षाको प्रसङ्गमा पनि कुरा उठाएको थिएँ । गजाधरकी घरकी बूढी एकदमै खराब रहिछिन्, यिनीहरू स्थिर रहेछन्, अदालतप्रति म एउटा कुरा भन्छु भनेर उठाइराख्दा यसलाई उनले एउटा तालिम भनेका छन् । तत्कालीन सामान्ती समाजको दृष्टिकोणबाट हेर्दाखेरि बुहारीहरूलाई तालिम दिनुपर्छ, यो तालिममा राखिएन भने करकर गरे भने घरपरिवार बिग्रन्छ भनेका छन् ।
यही दृष्टिकोणले पनि उनलाई डिट्ठाविचारीहरूको आलोचनाका कुरा हुँदाहुँदै पनि मौलिक सन्दर्भबाट हेर्दा भानुभक्त अलि पछौटे हुन् कि भन्ने अवस्था यसैले बनाएको हो । धेरै समालोचनामा यही कुरा आइरहेको छ । त्यसैले बधुलाई शिक्षा दिनुपर्ने, बरलाई दिनु नपर्ने किन ? भनेर अहिले नारीवादीहरूले उठाएका हुन् ।
तर तत्कालीन समाजमा पुरुषप्रधान र पितृसत्ताको कस्तो स्थिति थियो भनेर हेर्नलाई यो राम्रो पाठ हो भन्न सकिन्छ । समाज कति परिवर्तन भयो भनेर हेर्नका लागि पनि यो एउटा उपयुक्त आधार हुन सक्छ ।
–गणतन्त्रमा भानुभक्तको प्रशंसा या आलोचना के चाहिँ राम्रो हो ?
पुरानै कुराको आडमा नयाँ कुराहरू आउने हुन् । गणतन्त्रकै कोणबाट हेर्दा पनि पुराना राम्रा कुरालाई अँगाल्दै नराम्रा कुरा त्याग्नुपर्ने हुन्छ । अब अङ्ग्रेजी साहित्यकै दृष्टिकोणबाट हेर्दा पनि हिजो राजतन्त्रकै कविहरू भेटिन्छन् । अहिले पनि बेलायतमा राजतन्त्र नै छ तर अमेरिकालगायतका देशबाट हेर्दा गणतन्त्रतिरै गएको देख्न सकिन्छ । रुसकै सन्दर्भबाट हेर्दा पनि त्यही देखिन्छ । तर पुराना कुरा जति प्रगतिशील छ, त्यो कुरालाई लिने हो । भानुभक्तको कला, तत्कालीन समाजलाई दिएको जुन एउटा आधार, नेपाली भाषाप्रति गरेको उनको साधना जस्ता पक्ष त जगको रूपमा रहेका छन् । त्यसलाई त हामीले बिर्सन मिल्दैन ।
तर देवत्वकरण गर्ने, जन्मजयन्तीमा उनी महान् हुन् भन्नेजस्तो कुरा गर्नुभन्दा हिजोको सन्दर्भबाट भानुभक्तमाथि के खोजी भएको रहेछ आजसम्म, उनीमाथि अनुसन्धान भएर स्थापना भएका विषय के रहेछन् भनेर खोज्नु आवश्यक छ । त्यसको पुनः मूल्याङ्कन गर्दै अहिलेको पुस्ताले भानुभक्तबाट यी कुरा सिक्नुपर्छ भनेर स्थापना गर्नुपर्छ कि जस्तो लाग्छ । भानुभक्तमाथि अध्ययन कति भएको छ भनेर खोज्दा त्यसको स्पष्ट आधार फेला पार्न सक्दैनौँ । गणतन्त्र, प्रजातन्त्र आदि भनियो तर यो अवस्थामा हिजोको कुराहरूको प्राप्तिलाई अहिलेको सन्दर्भसँग जोडेर नयाँ किसिमले उपयोग गर्नुपर्छ । रातोपाटीबाट साभार