अलग्गिए उपेन्द्र र बाबुराम



काठमाडौँ। फुटको संघारमा पुगेको जनता समाजवादी पार्टी ९जसपा०को उपेन्द्र यादव पक्ष र डा.बाबुराम भट्टराई पक्षले आज अलग अलग बैठक बोलाएका छन्।

उपेन्द्र यादव पक्षले केन्द्रीय कार्यकारिणी समितिको बैठक आजदेखि पर्साको वीरगञ्जस्थित पुजन होटलमा बोलाएको छ। भोलिदेखि टाउन हलमा केन्द्रीय समितिको विस्तारित बैठक बस्ने यादव पक्षले जनाएको छ।

भट्टराई पक्षले पनि आज नै काठमाडौंको जडिबुटीस्थित एक ब्यांक्वेटमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको छ। बैठक दुई दिनसम्म चल्ने छ। यादव र भट्टराईले पार्टीबाट अलग-अलग हुने समझदारी गरिसकेका छन्। सोही समझदारी अनुसार दुई पक्षका नेताहरुले समानान्तर बैठक बोलाएका हुन्। यससँगै यादव र भट्टराई एकअर्काबाट अलग्गिएका छन्।

अध्यक्ष उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरु बैठकमा सहभागी हुन वीरगञ्ज पुगिसकेका छन्। यादव पक्षले भट्टराई पक्षको बैठक विधान विपरीत भएको भन्दै आफ्नो बैठक आधिकारिक भएको दाबी गरेको छ। भट्टराई पक्षका नेता गंगानारायण श्रेष्ठले विस्तारित बैठकमा समसामयिक राजनीतिसँगै पार्टी नेतृत्वमा देखिएको समस्याका विषयमा छलफल गर्ने बताए।

उपेन्द्र यादवले नेतृत्व गरेको तत्कालीन संघीय समाजवादी फोरम र बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टीबीच २०७६ साल बैशाख २३ गते एकता भएको थियो।

पार्टी एकतापछि ‘समाजवादी पार्टी’ नामकरण गरिएको थियो। २०७७ साल बैशाख १० गते राष्ट्रिय जनता पार्टीसँग पुनः एकीकरण भई ‘जनता समाजवादी पार्टी’ बनेको थियो। तर यादव र भट्टराईबीच एक(अर्काको कार्यशैली, समानुपातिक नेतृत्व प्रणाली लगायतका विषयमा मतभेद हुँदै आएको थियो। मतभेद उत्कर्षमा पुगेपछि शीर्ष दुई नेताहरुले सहमतिमै अलग(अलग हुने समझदारी गरेका थिए।