शेखरले भने,’तालमेलले सिट जित्यौँ तर पार्टीको सिद्धान्तलाई कहाँ पुर्‍यायौ?’



काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै स्थानीय चुनावमा गरिएको गठबन्धनप्रति आपत्ति जनाएका छन्।

तालमेलका कारण केही बढी सिट त जिते पनि पार्टीको आदर्श र सिद्धान्त नामेट भएको कोइरालाले गुनासो गरेका हुन्। तालमेलले काँग्रेसलाई भन्दा अन्य पार्टीलाई फाइदा भएको उनको निष्कर्ष छ।

‘तालमेलका कारण केही बढी सिट त जित्यौँ तर पार्टीको आदर्श र सिद्धान्तलाई कहाँ पुर्‍याउन खोज्दै छौँ ? स्थानीय तहको निर्वाचनमा स्थानीय अवस्था र आवश्यकताका आधारमा स्थानीय तहमै तालमेल गर्ने भन्यौँ तर कतिपय स्थानीय तहमा केन्द्रबाट टिकट दिन बाध्य पर्‍यौँ,’ उनले भने,‘अर्कोतर्फ तालमेलका नाममा स्थानीय तहमा महिला सहभागितालाई खुम्च्याउने काम भयो । त्यो पनि विचार गर्न जरुरी छ । तालमेलले काँग्रेस पार्टीलाई भन्दा अन्य पार्टीलाई बढी लाभ भयो। तालमेलमा जानुपूर्व सिङ्गो काँग्रेसलाई एक ढिक्का बनाइनुपर्थ्यो । क्रियाशीलता, लोकप्रियता तथा वरिष्ठताको मापदण्ड बनाएर भूगोल, जनसङ्ख्या तथा जातीय सन्तुलनका आधारमा न्यायोचित ढङ्गले टिकट वितरण गरिनुपर्थ्यो तर कतिपय स्थानमा त्यो हुन सकेन।’

उनले सत्ता तालमेल दलका नेताहरू नेपाली काँग्रेसतिर फर्केर आरोप लगाइरहेको तथा आलोचना र दोष थोपरिरहेको जानकारी दिएका छन्। ‘स्थानीय निर्वाचनको परिणामलाई लिएर उनीहरू काँग्रेस विरुद्ध तीतो पोखिरहेको कुरा सभापतिज्यूको जानकारीमा पनि होला भन्ने मलाई लागेको छ। यसरी एकातर्फ नकारात्मक चर्चा भइरहँदा किन हाम्रो पार्टी र नेताहरूले मौनता साँधेको हो ? म यी सबै विषयमा गम्भीर छलफलको जोडदार माग गर्दछु,’ कोइरालाले भने।

उनले काँग्रेसका हजारौँ नेता कार्यकर्ता गठबन्धनप्रति सकारात्मक बन्न नसकेको दाबी गरे । उनले प्रश्न गरे, ‘यसै परिप्रेक्षमा आगामी निर्वाचन व्यक्ति केन्द्रित गठबन्धन गर्‍यौँ भने पार्टीका साथीहरूलाई न्याय गर्न सक्छौँ त रु’ यसबारे आगामी निर्वाचन भन्दा अगाडि यस विषयमा गम्भीर र विस्तृत रुपमा पार्टीभित्र छलफल गरिनुपर्ने उनको माग थियो । प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्रको आवश्यकता र औचित्य पुष्टि हुनेगरी तालमेलबारे पार्टीको धारणा निर्माण गर्नुपर्ने धारणा राखे ।

कोइरालाले नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट नेतृत्व मात्र चयन भयो नीतिका विषयमा कुनै काम हुन नसकेको बताउँदै यथाशीघ्र नीति अधिवेशन गर्न आग्रह गरेका छन् । उनले पार्टी विधिसम्मत चल्नुपर्ने बताउँदै केन्द्रदेखि वडा तहसम्म नेतृत्वमा रहेकाले आफूलाई मत नहालेकालाई पनि न्याय हुने संस्कृतिको विकास गर्न माग गरे ।

उनले भने, ‘पार्टीको आन्तरिक जीवनमा बहस, छलफल र अन्तरक्रिया गरी निर्णयमा पुग्ने विगतको परिपाटी र परम्परा भन्दा पनि सभापतिज्यू एकल र एकपक्षीय ढंगबाट निर्णयमा पुग्ने गरेको देखिएको छ । यो पार्टीमा लाखौँ साथीहरूको बलिदानी तथा लगानी छ । तसर्थ पार्टीको निर्णयले सबैको मन छुन आवश्यक छ ।’ उनले भातृ तथा शुभेच्छुक संस्थाहरू लामो समयदेखि नेतृत्व विहीन तथा प्रायः निष्प्रभावी भएकाले प्रतिकुल प्रभाव परेको जिकिर गरे । उनले यी संस्थाको नेतृत्व देखि कार्यसमिति विधान बमोजिम पदाधिकारी सहित न्यायोचित ढंगबाट निर्माण गर्नुपर्ने धारणा राखे।