काठमाडौँ। सरकारले जापानका प्रधानमन्त्री सिन्जु आबेको निधनमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।
आबेको शुक्रबार मात्र हत्या भएको थियो। चुनावी सभालाई सम्बोधन गरिहेका बेला उनीमाथि गोली प्रहार भएको थियो। गोली लागेर ढलेका उनलाई हृदयघातसमेत भएको थियो।
नेपाल सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले आबे हत्याको घोर भत्सर्ना गरेको छ र उनको निधनप्रति भोलि शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले आबेको निधनप्रति शोक जनाएका छन्।
‘पूर्वप्रधानमन्त्री आबेको निधनको खबर सुनेर गहिरो दुःख लागेको छ। मेरो हार्दिक श्रद्धाञ्जली,’ देउवले ट्वीटमा लेखेका छन्, ‘उहाँ विश्वका चर्चित नेता मात्र नभएर नेपालको असल मित्र पनि हुनुहुन्थ्यो। यस दुस्खद घडीमा जापानका जनता र शोक सन्तप्त परिवारजनसँग हाम्रो विचार र प्रार्थना छ।’
यस्तै ओलीले पनि आबेको निधनप्रति दुख व्यक्त गर्दै ट्वीट गरेका छन्, ‘पूर्वप्रधानमन्त्रीको जघन्य हत्याको घोर भर्त्सना गर्दछु। आबे नेपालको मित्र हुनुहुन्थ्यो र उहाँले आफ्नो प्रधानमन्त्री हुँदा नेपाल-जापान सम्बन्धलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्नु भएको थियो, यस दुस्खद घडीमा उहाँको शोक सन्तप्त परिवारमा मेरो विचार र हार्दिक समवेदना छ।’
गोली प्रहार गर्ने यामागामी को हुन् ?
जापानका प्रधानमन्त्री आबेको हत्याको अनुसन्धान गरिरहेका प्रहरीले सन्दिग्ध हमलाकारीले (निश्चित संस्था) विरुद्ध ईख राखेको बताएका छन्। ती आरोपित बन्दुकधारी ४१ वर्षका तेत्सुया यामागामीले आबे पनि उक्त समूहको हिस्सा रहेको ठानेको र त्यसकै कारण उनलाई गोली हानेको बताएका छन्।
सो समूहको नाम नखुलाईकन प्रहरीले त्यस्तो जानकारी दिएको हो। एउटा राजनीतिक अभियानमा सम्बोधन गरिरहँदा गोली हानिएका आबेको शुक्रवार बिहान अस्पतालमा निधन भएको थियो।
यामागामीले उनलाई घरेलु बन्दुकले गोली हानेको स्वीकार गरेको प्रहरीले जनाएको छ। ६७ वर्षका आबे जापानका सबैभन्दा लामो समय शासन गर्ने प्रधानमन्त्री थिए। बन्दुक सम्बन्धी अपराध एकदमै दुर्लभ रूपमा हुने जापानमा भएको उनको हत्या मानिसहरूलाई स्तब्ध बनाएको छ।
आक्रमणको केही बेर अघि लिइएको तस्बिरमा हमलाकारी आबेको पछाडि देखिन्छन्। आक्रमणको केही बेर अघि लिइएको तस्बिरमा हमलाकारी आबेको पछाडि देखिन्छन्
माथिल्लो सदन अन्तर्गत आइतवारका लागितय गरिएको उपचुनावमा लिबरल डिमेक्रेटिक पार्टीको पक्षमा अभियानमा सहभागी भइरहँदा आबेमाथि गोली प्रहार भएको थियो। लिबरल डेमेक्रेटिक पार्टीका नेता रहेका जापानका प्रधानमन्त्री फुमिओ किशिदाले आबेको निधनको खबरले आफू ुनिशब्दु भएको भन्दै जापानको लोकतन्त्रले हिंसासामु कहिले पनि घुँडा नटेक्ने बताएका छन्।