पार्टी पुनर्गठनको विकल्प रहेन: बाबुराम भट्टराई



काठमाडौँ। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले जसपा नेपालका उपेन्द्र यादव पक्षले कारबाहीको घोषणा गरेसँगै पार्टी पुनर्गठनको विकल्प नरहेको बताएका छन्। जसपाको संघीय परिषद् अध्यक्षकै हैसियतमा शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले यादव पक्षको कारबाही खारेज गर्दै पार्टी पुनर्गठनको घोषणा गरेका हुन्।

‘उपेन्द्र यादवको अध्यक्षतामा बसेको असार २९–३० गतेको बैठकले पार्टीलाई एकताबद्ध बनाउन पहल नगरेर स्वेच्छाचारी शैलीमा अवैधानिक, अराजनीतिक र अनैतिक रूपमा सङ्घीय परिषद् अध्यक्षलगायत केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई पदमुक्त गरेको घोषणा गरेको छ। हामी यस कारबाहीको घोर भर्त्सना गर्दै कारबाहीको निर्णय खारेज गर्दछौं। यो परिस्थितिमा अब हाम्रो सामु पार्टी पुनर्गठनको विकल्प रहेन’, भट्टराईको विज्ञप्तिमा भनिएको छ।

भट्टराईले पार्टी रुपान्तरणका लागि अनवरत रूपमा खटिएका केन्द्रीय सदस्यहरू लगायत सबैलाई पार्टी पुनर्गठनका लागि हार्दिक अपिल पनि गरेका छन्। भट्टराईले जसपा नेपालमा लामो समयदेखि देखिएका वैचारिक, राजनीतिक, सांगठनिक र केन्द्रीय समिति अध्यक्षको स्वेच्छाचारी कार्यशैली विरुद्धको बहस उत्कर्षमा पुगेको उल्लेख गर्दै सोही क्रममा केन्द्रीय समितिको अलग अलग बैठक गर्ने तहसम्म पुगेको विज्ञप्तिमा उल्लेख गरेका छन्।

सोही क्रममा आफू पक्षीय केन्द्रीय समितिको विस्तारित बैठक यही असार २८–२९ गते सम्पन्न भएको भट्टराईको भनाइ छ। सङ्घीय परिषद् अध्यक्षको अध्यक्षतामा बसेको केन्द्रीय समितिको विस्तारित बैठकले पार्टी रुपान्तरणका लागि अन्तिमसम्म प्रयत्न गर्ने निर्णय गरेको उनको भनाइ छ।

तर, उपेन्द्र यादवको अध्यक्षतामा बसेको वीरगन्ज बैठकले पार्टीलाई एकताबद्ध बनाउन पहल नगरेर स्वेच्छाचारी शैलीमा अवैधानिक, अराजनीतिक र अनैतिक रूपमा सङ्घीय परिषद् अध्यक्षलगायत केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई पदमुक्त गरेको उनको भनाइ छ।