जुम्लाका किसान मार्सी धान रोप्न व्यस्त



जुम्ला। जुम्लाको पातारासी गाउँपालिका ३ का किसान कृष्णबहादुर महातराले २ हजार ७ सय २५ वर्ग मिटर जग्गामा मार्सी धान रोपेका छन्।

२ साताअघि मात्रै प्रिमियम बापत ३ सय ३५ रुपैयाँ तिरेर उनले उक्त खेतीको बीमा गरेका छन्। अब उक्त मार्सी धान नभित्र्याउँदासम्म केही क्षति भए उनले बीमा बापत २६ हजार ५ सय रुपैयाँ पाउनेछन्। कृष्णका छिमेकी पदमबहादुर महताराले पनि ३.८४ रोपनी जग्गामा लगाएको मार्सी धानको बीमा गरेका छन्। २ सय ६० रुपैयाँ प्रिमियम रकम तिरेर बीमा गरेका उनले धानमा केही क्षति भए १९ हजार ९९ रुपैयाँ क्षतिपूर्ति पाउनेछन्।

मार्सी धान मुख्य रूपमा कर्णाली प्रदेशको जुम्लामा मात्रै उत्पादन हुने गर्छ। केही वर्षयता मुलुकभित्र र बाहिरसमेत माग बढेपछि यसको उत्पादन बढाउन र किसानलाई खेतीतर्फ आकर्षण गर्न पहिलो पटक बीमा कार्यक्रम ल्याइएको हो। मार्सी धानमा रोग किराको संक्रमण हुनुका साथै प्राकृतिक प्रकोपका कारण उत्पादनमा समेत कमी आउन थालेको किसान बताउँछन्।

बीमा कार्यक्रम सुरु भएपछि किसानले ढुक्कसँग खेती गर्न सक्ने शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले विश्वास लिएको छ। कम्पनीका अनुसार धान फल्ने विश्वकै उच्च स्थान छुमचौर जिउलोका किसानले मार्सी धानको बीमा गरेका हुन्। छुमचौरमा कृषि अनुसन्धान केन्द्र विजयनगरले ६ जातको मार्सी धान रोपेको छ। २ हजार ८ सय ५० मिटर उचाइमा फल्ने मार्सी धानको पहिचान बचाउन पनि बीमा थालिएको कम्पनीले जनाएको छ।

छुमचौरमा झन्डै ५ सय ५० वर्ष अघिदेखि धान खेती गर्न थालिएको बताइन्छ। केही वर्षयता रोग किराको संक्रमण बढेर उत्पादनमा ह्रास हुन आउन थालेपछि किसानले धान रोप्नै छाडेका थिए। धानमा रोग लागेर वा प्राकृतिक प्रकोपका कारण क्षति हुन पुगेमा दाबी भुक्तानी पाउने भएकोले अब ढुक्क भएर खेती गर्न सक्ने अवस्था आएको पदमबहादुरले बताए।

कृषि क्षेत्रको बिमाको लागि सरकारले ८० प्रतिशत रकम व्यहोर्दै आइरहेको छ। बाँकी २० प्रतिशत रकम व्यहोर्ने गरी छुमचौरका १६ जनाले मार्सी धान खेतीको बीमा गरेका उनले जानकारी दिए। मार्सी धान जुम्लाको ब्रान्ड भएकाले बिमा कार्यक्रम सुरु गरिएको कम्पनीका जुम्ला शाखा प्रमुख लक्ष्मण शाहीले बताए। जुम्लामा झण्डै ३ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये करिब १५ सय हेक्टरमा काली मार्सी धान रोप्ने गरिएको कृषि कार्यालयको तथ्यांक छ।