काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव कम गर्न सरोकारवाला सचेत हुनुपर्ने बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले जलवायु परिवर्तनबाट पर्यटकीय क्षेत्रहरुलाई कसरी सुरक्षित गर्ने भन्ने बिषयमा आवश्यक रणनीति बनाउनुपर्ने बताए।
जलवायुजन्य प्रकोपका कारण पर्यटन क्षेत्रको अर्थतन्त्रमा गम्भीर असर पुग्नसक्ने भएकोले त्यसतर्फ सचेत हुनुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ। मन्त्री श्रेष्ठले कोभिड महामारीका कारण प्रभावित भएको पर्यटन क्षेत्र पुनरुत्थानको क्रममा रहेको बताए। महामारीको असर कम हुँदै जाँदा पर्यटन आगमन सामान्य हुँदै गएको र पर्यटन गतिविधि पुनरागमनको अपेक्षा गरिएको उनको भनाइ छ।
कार्यक्रममा सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले वातावरणीय न्यायका लागि बनेका ऐन र कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए। सो अवसरमा जलवायु परिवर्तनले महिलाको जनजीवन र पर्यटनमा पारेको असरबारे ध्यानाकर्षण गराउन ६० जना महिलाले डोल्पाको शे फोक्सुन्डो क्षेत्रमा पदयात्रा गर्ने जानकारी दिइएको थियो।