काठमाडौँ। निर्वाचन आयोगले आगामी मंसिर २ गतेका लागि प्रदेश र संघको निर्वाचनको मिति प्रस्ताव गरेको छ।
बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसहितको छलफलमा आयोगका पदाधिकारीले मंसिर २ गतेका लागि चुनावको मिति प्रस्ताव गरेका हुन्।
आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ (१) र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ (१) बमोजिम प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन एकै चरणमा सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्न नेपाल सरकारलाई परामर्श दिएको जानकारी दिएको छ।
निर्वाचन आयोग ऐन, २०७३ तथा निर्वाचन सम्बन्धी कानूनले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मिति निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले तोक्ने व्यवस्था गरेको छ।
आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, कानुनमन्त्री गोविन्द बन्दी, मुख्यसचिव शंकरदास बैरागी लगायतसँग छलफल गरेको थियो। छलफलपछि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले रातोपाटीसँग भने, ‘हामीले मंसिर २ गते शुक्रबार एकै चरणमा निर्वाचनको मिति प्रस्ताव गर्यौँ।’
उनले १२० दिन अवधि हुने गरी निर्वाचनको मिति तोकिदिन प्रधानमन्त्रीसँग आग्रह गरिएको बताए। प्रधानमन्त्री देउवाले १२० दिनको समय अवधि हुने गरि निर्वाचनको मिति दिने जवाफ दिएका थिए। प्रधानमन्त्री देउवाले एकै चरणमा निर्वाचन गर्ने सन्दर्भमा सहमति जनाएको थपलियाले बताए। आयोगले प्रस्तुत गरेको मितिका सन्दर्भमा भने प्रधानमन्त्री देउवाले छलफल गर्न आवश्यक रहेको जवाफ दिएका थिए।
‘मंसिर २ गतेको हकमा हामीले अलि कति छलफल गरेर मंसिर ५ गते उता नजाने गरी उपयुक्त मिति दिने छौं,’ प्रधानमन्त्री देउवाको भनाइ उधृत गर्दै थपलियाले भने। उनका अनुसार प्रधानमन्त्री देउवाले निर्वाचन आयोगलाई चुनावी तयारी थाल्न निर्देशन दिएका छन्।