अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा



काठमाडौँ। अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन्।

बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै अर्थमन्त्रीले राजीनामा दिएका हुन्। बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नबारे प्रश्न उठेपछि अर्थमन्त्री शर्माले राजीनामा दिएका हुन्। जेष्ठ १४ गते अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश भइ बजेटमा करको दर हेरफेर गरिएको समाचार प्रकाशित भएपछि एमालेले राजीनामा माग गर्दै आएको थियो।

आजै एमालेको माग बमोजिम अर्थमन्त्री शर्मामाथि छानविन गर्न ११ सदस्यीय छानविन समिति गठन भएको थियो। संसदीय छानविन विशेष समितिमा विभिन्न दलका तर्फबाट रहेका सांसदहरुमा खगराज अधिकारी, देव गुरुङ, पुष्पा भुसाल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला बिक, लक्ष्ममणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सरला कुमारी यादव, सीताराम महतो र सुरेन्द्र प्रसाद यादव रहेका छन्। समितिलाई १० दिनको समय दिइएको छ।