प्रचण्डलाई प्रश्न: पदाधिकारी चयन गर्न नसक्नेले देश बनाउन सक्छ?



काठमाडौँ। माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा सोमबारको बैठकमा पदाधिकारी चयनमा भएको ढिलाइबारे पनि आवाज उठेको छ।

नेता सुदन किराँतीले पदाधिकारी त टुङ्ग्याउन नसक्नेले कसरी देश बनाउन सक्छ भन्दै नेतृत्वप्रति व्यङ्ग्य गरे। ‘पदाधिकारी त टुङ्ग्याउन नसक्ने अवस्थामा हामी छौँ । घर बनाउन नसक्ने पार्टीले देश बनाउन सक्दैन’, उनले भने। यसअघि माओवादी केन्द्रको आइतबारको बैठकमा बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीलगायतले पनि छिटो पदाधिकारी टुङ्गो लगाउन माग गरेका थिए। पुसमा महाधिवेशन गरेको माओवादीले हालसम्म पनि पदाधिकारीको टुङ्गो नलगाएपछि यसबारे आवाज उठेको हो।

​उनले अरू भन्दा माओवादी फरक देखिन जरुरी रहेको पनि धारणा राखे। ‘एमाले काँग्रेस जस्तै देखिए त उतै लागिहाल्छ नि मान्छे’, उनको भनाइ थियो, ‘ हामीलाई किन वीर अस्पताल बनाउनु पर्‍यो, हेल्थ पोस्ट बनाऔँ। सानो काम गरौँ तर राम्रो काम गरौँ।’ गफ मात्रै गरेर पार्टी नबन्ने भन्दै यस्तै प्रवृत्ति भइराख्ने हो भने माओवादीलाई झाडापखाला नलागेर कसलाई लाग्छ त? भन्दै कटाक्ष गरे। उनले पार्टीको तर्फबाट सरकारमा रहेकाहरूको पनि समीक्षा जरुरी रहेको बताए।

बैठकमा समानुपातिक मुद्दाको पार्टीमा व्यापक छलफल जरुरी रहेको आवाज पनि केन्द्रीय सदस्यले उठाए। यस्तै केन्द्रीय सदस्य अमृता थापाले क्रान्तिकारी पार्टी निर्माणमा जोड दिइन्।

माओवादी पार्टीको राष्ट्रवादी छवि कायमै राखिनुपर्नेमा भूमिका खेल्नुपर्नेमा जोड दिँदै केही केन्द्रीय सदस्यले अध्यक्षको प्रतिवेदनमा एमालेमा जाने बादललगायतको विषय पनि उल्लेख हुनुपर्ने कुरा उठेको ती केन्द्रीय सदस्यको भनाइ छ। अर्का केन्द्रीय सदस्य खेल प्रसाद बुढाथोकीले पार्टीमा अनुशासन कायम गर्न जोड दिए। पार्टी अनुशासित भएको खण्डमा मात्रै जनताको मन र मत पनि जित्न सकिने उनको भनाइ छ।