काठमाडौँ। नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष माधवकुमार नेपालले पार्टी एकताबारे आएको प्रस्तावबारे ब्रिफिङ गरेका छन्।
सोमबार झण्डै ६ घण्टा बसेको सो पार्टीको सचिवालय बैठकमा तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यहरूबीचको बैठकमा पार्टी एकताबारे आएको प्रस्तावबारे ब्रिफिङ गरेका हुन्।
‘अध्यक्षले पार्टी एकताका लागि आएको प्रस्तावबारे सामान्य ब्रिफिङ गर्नुभयो’, सचिवालय सदस्य प्रकाश ज्वालाले अध्यक्ष नेपालले बैठकमा गरेको ब्रिफिङलाई उद्धृत गर्दै भने, ‘पार्टी एकताको प्रस्ताव सकारात्मक हो। तर यसमा अहिले नै निर्णयमा पुग्न सकिँदैन, पार्टीभित्र पनि छलफल गर्नुपर्छ।’
आइतबार तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठबीच छलफल भएको थियो। उक्त छलफलमा नेता गौतमले माओवादी र समाजवादीबीच चुनाव अघि नै एकता गर्नुपर्ने प्रस्ताव अघि सारेका थिए।
समाजवादीको सचिवालय बैठकमा सो पार्टीको असार १४ गते सम्पन्न केन्द्रीय परिषद् बैठकको समीक्षा गर्नुका साथै परिषद् बैठकमा अध्यक्ष माधवकुमार नेपालको पेस गरेको राजनीतिक प्रतिवेदनमा आएका सुझाव समेटिएको छ।