अछाम। जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाकी नगर प्रमुख अम्बिका चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नगरपालिका वडा नम्बर ४ बस्ने किशोरविनोद शाहीको मृत्यु प्रकरणको अनुसन्धान गर्न शनिबार नगर प्रमुख चलाउने सहित थप एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
शाही मृत घटनाको अनुसन्धान गर्न भन्दै प्रहरीले यसअघि ५ जनालाई नियन्त्रणमा लिएको थियो। शनिबार नगर प्रमुख चलाउने र नेत्र शाहीलाई नियन्त्रणमा लिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक मोहनकुमार आर्चायले जानकारी दिए।
यस्तै जिल्ला प्रहरी कार्यालय अछामले पनि घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको बताएको छ । केही दिनमै प्रहरीले अनुसन्धान सकेर अनुसन्धान रिपोर्ट अदालतमा पेश गर्ने जनाएको छ।
विनोद जेठ २१ गते बिहान १० बजे गाउँ नजिकैको भिरमा मृत फेला परेका थिए। उनको हत्या गरिएको भन्दै परिवारले नगर प्रमुख चलाउने सहित १३ जनाको नाममा प्रहरीसमक्ष किटानी जाहेरी दर्ता गरेको थियो।