काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताले पत्याए जनप्रतिधि र कार्यकर्ताले पत्याए मात्र नेता भइने बताएका छन्।
शनिबार आयोजित नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी) को दोस्रो सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले जनता र कार्यकर्ताको विश्वास जित्ने गरी टोल र वुथ तह सम्म मेहनतका साथ कार्यकर्तालाई प्रशिक्षित गर्दै काम गर्न निर्देशनसमेत गरेका छन्।
स्थानीय निर्वाचनमा २८ प्रतिशत स्थानमा उम्मेद्वारी दिँदा ९ लाखभन्दा बढि मत प्राप्त भएको स्मरण गर्दै अध्यक्ष नेपालले सवै स्थानमा उम्मेद्वारी दिएको भए २० लाखभन्द बढि मत आउने दाबी गरेका छन्।
स्थानीय निर्वाचनमा गठबन्धन दलले आफ्नो पार्टीको शक्तिलाई अवमुल्यन गरेको भन्दै नेता नेपालले आगामी निर्वाचनमा एक्लै भए पनि चुनाव लड्न तयार हुनुपर्ने धारणा राखे। कोरोना, स्थानीय चुनावको तयारी पार्टीसँग जोडिएका विभिन्न समस्याका बावजुत ८ महिनाको अवधिमा पार्टीले प्राप्त गरेको सफलतालाई अन्यथा लिनु नहुने उनको तर्क छ।
आफूहलाई बैकल्पिक शक्तिको रुपमा विकास गर्नुपर्ने भन्दै अध्यक्ष नेपालले क्रान्तिकारी चेत र संस्कारले युक्त पार्टी निर्माण गर्नुपर्नेमा जोड दिए। जनताले कम्युनिष्ट पार्टीभित्रै विकल्प खोजिरहेको भन्दै कम्युनिष्ट पार्टीको लोकतान्त्रिकीकरण गर्दै नेपाली समाजको रुपान्तरको कार्यदिशा तर्फ लागू पर्नेमा जोड दिए।
अबको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा उम्मेद्वार मात्र नभएर पार्टी पनि निर्वाचनमा सहभागि हुने भन्दै अध्यक्ष नेपालले समानुपातिक मतबाट मात्र पार्टीको अवस्था थाहा हुने भएकोले निर्वाचन चिन्हको प्रचारमा लाग्नुपर्नेमा जोड दिए।
बैठकले आगामी साउन ९ गतेबाट असोज १० गतेसम्म देशैभर २ महिने संगठन विस्तार अभियान सञ्चालन गर्ने साथै असार २५ मा गण्डकी प्रदेश भेला गर्ने निर्णय गरेको भूतपूर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी) का अध्यक्ष धनबहादुर कार्कीले बताए।