मुख्यमन्त्री पाण्डेका विरुद्ध हस्ताक्षर संकलन



मकवानपुर। सत्तारुढ गठबन्धनको पूर्वसहमति चुनावी सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने भन्ने थियो। सोही समझदारीमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता पाण्डे मुख्यमन्त्री बनेका थिए।

आर्थिक वर्ष २०७८र०७९ को बजेट पास भएपछि पूर्वसहमतिअनुसार नै नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ सत्तारोहणको तयारीमा छन्।
पाण्डे गत कात्तिक ११ गते ६ महिनापछि नेतृत्व छाड्ने गरी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा (एस) को समर्थनमा मुख्यमन्त्री बनेका थिए। उनलाई माओवादी २३, नेपाली कांग्रेस २२, नेकपा (एस) १३ र जसपाको एकसहित ५९ सांसदको समर्थन रहेको थियो।

कांग्रेसले सहमति अनुसार सहजै आफूले सत्ता प्राप्त गर्नुपर्ने माग गरेपनि मुख्यमन्त्री पाण्डे भने केन्द्रीय नेतृत्वको निर्देशनपछि मात्र पछाडि हट्ने भनेर पन्छिएपछि हस्ताक्षर संकलन गरिएको एक सांसदले जानकारी दिए।

‘सहमति अनुसार मुख्यमन्त्रीले सहजै सत्ता नछाड्ने देखियो। त्यसकारण यस्तो गर्नु परेको हो,’उनले भने। उनले हाल माओवादी र कांग्रेसबाट मन्त्रिपरिषद्‌मा सहभागी मन्त्री तथा राज्यमन्त्री समेत फिर्ता बोलाउने तयारी भइरहेको उनले बताए।