कोइराला समूहद्वारा विद्रोहको चेतावनी



काठमाडौँ। नेपाली काँग्रेसमा डा.शेखर कोइराला समूहले विद्रोहको चेतावनी दिएको छ।

बिहीबार बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको कोइराला पक्षको बैठकले पार्टीभित्र सभापति शेरबहादुर देउवाले एकलौटी गरेको भन्दै कोइराला समूहले विद्रोहको चेतावनी दिएको हो।

बैठकपछि बोल्दै कांग्रेस नेता चन्द्र भण्डारीले भेलामा रचनात्मक बिद्रोह (कन्स्ट्रक्टिभ रिभोल्ट) गर्नुपर्ने कुरा समेत उठेको बताए। उनले कस्तो खालको विद्रोहको गर्ने र आगामी कदम के हुने भन्ने बारेमा शुक्रबारको बैठकले टुंगो लगाउने बताए।

यस्तै बैठकले पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी गरेको निष्कर्ष निकालेको छ। बैठकले देउवाले महाधिवेशनपछिको प्रतिवद्धता विपरित एकलौटी रुपमा अघि बढेको निकालेको हो।

पार्टीमा छलफल र सरसल्लाह गरेर अघि बढ्छु भनेर देउवाले महाधिवेशनपछि गरेको प्रतिवद्धता पूरा नगरेको कोइराला पक्षको आरोप छ। भ्रातृ संस्थामा नियुक्त गर्दा देउवाले आफूखुसी नियुक्ति गरेका थिए। शेखर पक्षको बैठक शुक्रवार अपरान्ह पुनः बस्ने छ।

बैठक आज पनि बस्ने

कोइराला पक्षको बैठक आज पनि बस्ने भएको छ । बिहीबार राजधानीको बत्तीसपुतली एक फुडल्याण्डमा बसेको कोइराला समूहको बैठक आज दिउँसो २ बजे सोही स्थानमा बस्ने भएको हो ।

यसअघि हिजोको बैठकमा सभापति शेरबहादुर देउवाले पार्टीलाई विधानसम्मत चलाउन नसकेको निष्कर्ष निकालिएको थियो। १४औँ महाधिवेशनपछि पनि पार्टी विधान र विधिसम्मत ढंगले सञ्चालन हुन नसकेको भन्दै बैठकमा नेताहरुले असन्तुष्टि जनाएका थिए ।

नेताहरूले सभापति देउवाले पार्टीभन्दा सत्तालाई मात्रै केन्द्रमा राखेर काम गरेको आरोप लगाएका छन् । देउवाले स्थानीय चुनाव सकिएको लामो समय भइसक्दा पनि केन्द्रीय समिति बैठक नराखेको, भ्रातृ संस्थामा आफूखुसी नियुक्ति गरेको भन्दै असन्तुष्टि जनाएका थिए । देउवाको मनोमानी कायमै रहेमा विद्रोह गर्नुपर्ने सो समूहका नेताहरुले बताउँदै आएका छन् ।