असारे विकास: एकै दिन ११ अर्ब बढीको भुक्तानी



काठमाडौँ। यतिखेर सरकारलाई असारे विकासको चटारो छ। खेतीपातीको मौसम यता कृषकहरूलाई धान बाली लगाउने चटारो परिरहेका बेला उता सरकारलाई भने असारे विकास र बजेट सक्ने चटारो परेको हो। जुन असार लागेसँगै सरकारले गरिरहेको धमाधमको विकास निर्माण र सोको भुक्तानीले देखाएको छ।

महालेखा नियन्त्रण कार्यालयका अनुसार असार महिनाको १५ दिनमा मात्रै सरकारले साढे १४ अर्ब रुपैयाँ बराबरको विकास खर्च भुक्तानी गरेको छ।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म जम्मा १ खर्ब ३६ अर्ब ८८ करोड ४८ लाख रुपैयाँ पुँजीगत खर्च गरेको सरकारले असार १५ गतेसम्म १५ दिनमा नै खर्च बढाएर १ खर्ब ५० अर्ब ३९ करोड ४१ लाख भुक्तानी गरेको छ। अझ यस्तो भुक्तानी असार १५ गते मात्र एकै दिन ११ अर्ब रुपैयाँ बढीको भएको महालेखाको तथ्याङ्कले देखाउँछ।

महालेखा नियन्त्रणको कार्यालयका अनुसार असार १५ गते चालुतर्फ ९ अर्ब ३ करोड ५८ लाख रुपैयाँ र पुँजीगततर्फ २ अर्ब ९९ करोड ३ लाख रुपैयाँ भुक्तानी भएको छ। चालु आर्थिक वर्षका लागि सरकारले पुँजीगत खर्चतर्फ कुल ३ खर्ब ७८ करोड ९ लाख ७७ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ। सो मध्ये असार १५ सम्म जम्मा ३९.७८ प्रतिशत मात्र खर्च हुन सकेको हो।

बजेट कार्यान्वयनका लागि साउनदेखि चैत–वैशाखसम्म मौन रहने तर जेठ, असार लागेपछि भने धमाधम विकास निर्माणमा जुट्ने र अन्तिम अन्तिममा आएर ठूलो भुक्तानी गर्नुले भने उहीँ पुरानो असारे विकासको निरन्तरता देखिन्छ।