तीन दिन उच्च सतर्कता अपनाउन मौसम विभागको आग्रह



काठमाडौँ। जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले आगामी तीन दिन देशभर भारी वर्षा हुने भन्दै उच्च सावधानी अपनाउन आग्रह गरेका छन्।

बुधवार गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकमा बोल्दै महानिर्देशक जोशीले आगामी तीन दिन देशभर भारी वर्षा हुने भएकाले उच्च सतर्कता अपनाउन आम नागरिकलाई आग्रह गरेका हुन्।

उनले आगामी तीन दिन तराईका सबै जिल्लाहरुमा र गण्डकी प्रदेशमासमेत भारी वर्षा हुने र खोलामा जलस्तर बढेर बाढीको समस्या निम्तिन सक्ने बताए। उनले विभागले मौसम सम्बन्धी निकाल्ने नियमित बुलेटिन बाहेक विशेष बुलेटिन निकालेको अवस्थामा अझ सतर्क हुन आग्रह गरे।

बिहिबार प्रदेश–१, वागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानहरुमा भारी वर्षा हुने सम्भावना रहेको छ। राति पनि  देशभर  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ। नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।