एकजना चालक ट्राफिकको सम्पर्कमा, अर्को खोजिदै



काठमाडाैँ। गौशाला चोकमा फेला परेका दुईवटा मोटरसाइकलको नम्बर प्लेट समान रहेको पाईयो।

प्रदिपजंग क्षेत्रीले खिचेको सो तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भयो। तस्बिर सार्वजनिक भएसँगै उपत्यका ट्राफिक प्रहरी कार्यालयले दुवै मोटरसाइकलबारे खोजि सुरु गर्यो।

अनुसन्धानबाट एकजना चालकलाई सम्पर्कमा ल्याएर सोधपुछ गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी सञ्जीव शर्माले बताए। गौशाला चोकको जाममा बाग्मती प्रदेश–०२–०२२ प २३८० नम्बरका ती दुवै मोटरसाइकल सँगै देखिएका हुन्।

यातायात व्यवस्था कार्यालयबाट विवरण ल्याएर एउटा मोटरसाइकललाई ट्राफिक प्रहरीले सम्पर्कमा ल्याएको छ। बजाज पल्सर मोटरसाइकलको नम्बर यातायात व्यवस्था कार्यालयबाट जारी भएको सक्कली नम्बर भएको पुष्टि भएको छ। ‘एकजना चालकलाई सम्पर्कमा ल्याएका छौं’ एसपी शर्मा भन्छन्–‘अर्को मोटरसाइकललाई खोजिरहेका छौं।’

सम्पर्कमा आएका चालकले अर्का चालकले गौशाला चोकमा ‘मेरो नम्बर गलत भएछ’ भनेर प्रतिक्रिया दिएको ट्राफिक प्रहरीलाई बताएका छन्। यातायातले गल्ती नम्बर दिएको पनि हुनसक्ने अनुसन्धानमा संलग्न ट्राफिक प्रहरी अधिकृतले सञ्चार माध्यमलाई जानकारी दिएका छन्।