सप्तकोशीमा पानीको बहाव बढ्दै, २४ ढोका खोलियो



मोरङ। निरन्तरको वर्षाको कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ। बुधबार साँझको मापनअनुसार सप्तकोशीमा पानीको बहाव १ लाख ७८ हजार ५ सय ९५ क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

सप्तकोसीमा पानीको बहाव एकलाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ। सप्तकोसीका ५६ ढोकामध्ये अहिले २४ वटा मात्र ढोका खोलिएको छ। यद्यपि सप्तकोशीमा पानीले धार परिवर्तन गर्ने वा बाँध फुट्ने सम्भावना कम रहेको कारण खतरा उत्पन्न नहुने सुरक्षा निकायको विश्वास छ।

प्रदेश १ मा विस्थापित पुनः स्थापित हुँदै

१ नम्बर प्रदेशमा बाढी र पहिरोका कारण विस्थापित हुनेको संख्या घटेको छ। वर्षाको कारण प्रदेश १ का विभिन्न जिल्लामा आएको बाढी, पहिरो, डुबान र कटानका कारण झण्डै २ हजार बढी परिवार विस्थापित भएका थिए। यद्यपि पानी कम पर्न थालेपछि विस्थापितहरु पुरानै ठाउँमा पुगेको प्रदेश १ प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ।

प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार अब सुनसरीको १५ घरपरिवार विस्थापित भएका छन्। बाढी र पहिरोका कारण हालसम्म ५ वटा चौपाया मरेका छन् भने ४ वटा भौतिक संरचना पूर्ण रुपमा र २ वटामा आंक्षिक क्षति भएको छ। यस्तै बाढी र पहिरोका कारण प्रदेश १ को विभिन्न ७ स्थानमा सडक अवरुद्ध भएको छ।

उदयपुरको चौदण्डीगढी १० खैराझोडा र ९ नम्बर वडाको ज्यामिरे खोलामा आएको बाढीको कारण तत्काल साना तथा ठूला सवारी साधन आवत जावत गर्न नसक्ने अवस्था भएको छ। यस्तै धनकुटा नगरपालिका ९ सिम्सुवास्थित मुलघाटदेखि त्रिवेणी जाने भित्री कच्ची बाटो पहिरोले अवरुद्ध बनेको छ।

सुनसरीको बराहक्षेत्र १ ब्रम्हानन्द खोलास्थित चतरा बराहक्षेत्र भित्री सडक खण्डमा पहिरो झरेर बाटो अवरुद्ध भएको छ। यस्तै सुनसरीको दुहबी १२ स्थित भित्री सडक खण्डको बाङ्गेस्थित गढी ३ टेङ्ग्रा खोलाका कारण बाटो अवरुद्ध बनेको छ। यस्तै मोरङको कानेपोखरी २ दलेलीमा गेउरिया खोलाका कारण बाटो अवरुद्ध भएको छ। खोटाङको दिक्तेल रुपाकोट र हलेसी तुवाचुङ तथा ओखलढुंगाको मानेभन्ज्याङमा पनि पहिरोका कारण बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ।