काठमाडौँ। असार १५ गते हरेक वर्ष आउँछ र जान्छ । सरकारले विसं २०६१ देखि असार १५ का दिन हरेक वर्ष धान दिवस मनाउँदै आएको छ।
मुलुक कृषि प्रधान भएकाले पनि त्यसको महत्व दर्साउन र धानको सर्वव्यापकता फैलाउनका लागि यो दिवस मनाउने गरिएको हो। हरेक वर्ष धान रोप्ने खेत क्रमशः घट्दै गएको छ। मलिलो र बढी उब्जनी हुने फराकिला फाँटमा आजकल धान होइन, कङ्क्रिटका जङ्गल बढ्दै गएको छ।
खेती गर्नेको आत्मसम्मान समेत बढ्न सकेको छैन। सोही कारण हरेक दिन विदेशिने युवाले पठाउने विप्रेषण खर्चबाटै चामल आयात हुने गरेको छ। भन्सार विभागले हरेक महिना सार्वजनिक गर्ने विवरण हेर्ने हो भने नेपालको परिचयमा समेटिएको ‘कृषि प्रधान देश’ भन्ने विशेषण पनि अब जिस्क्याएजस्तो हुन थालेको छ।
नेपालको कूल ग्राहस्थ उत्पादन (जिडीपी) मा कृषि क्षेत्रको योगदान २७ प्रतिशत बराबर रहेको विवरण केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको छ। हरेक वर्ष कृषि क्षेत्रको विकासका लागि भनेर गरिएको खर्चसमेत वास्तविक किसानले पाउन नसकेको अवस्था छ।
सोह्र अर्बको मकै आयात
विभागले सार्वजनिक गरेको विवरणमा मकैको आयातमा समेत अर्बौं रकम बाहिरिएको देखिन्छ। नेपालको हावापानी अनुकूल रहने मकै खेती व्यावसायिक बन्न नसक्दा यस्ता खाद्यान्नमा अर्बौं रकम विदेशिने गरेको हो। विभागको विवरणअनुसार चालु आवको जेठ मसान्तसम्म रु १६ अर्ब बढीको मकै आयात भएको देखिन्छ।
कूल ४७ करोड ५७ लाख ७३ हजार ११३ केजी मकै सो अवधिमा नेपाल भित्रिएको छ। त्यसको लागत मूल्यमात्र रु १६ अर्ब ७५ करोड ३९ लाख ६२ हजार बराबर रहेको छ। यसैगरी सोही अवधिमा एक करोड ४९ लाख ७३ हजार १९६ केजी मकैको बीउ आयात भएको छ। त्यसको लागत मूल्य रु एक अर्ब आठ करोड १० लाख २५ हजार बराबर छ। मकै तथा यसको बीउको आयातबाट सरकारले रु ९३ करोड ३० लाख २२ हजार बराबरको राजस्व सङ्कलन गरेको छ।
पाँच अर्बको गहुँ आयात
विभागको विवरणनुसार गहुँको आयात पनि उस्तै छ। एघार महिनाको अवधिमा मात्रै रु पाँच अर्ब ६३ करोड नौ लाख ४५ हजार बराबरको १७ करोड पाँच लाख १७ हजार ९७३ केजी गहुँ आयात भएको छ। त्यस्तै, कोदोको बीउ ११ लाख ४४ हजार ५४२ केजी रु तीन करोड ८२ लाख ६६ हजार मूल्य बराबरको आयात भएको छ।
यस अवधिमा एक करोड ७९ लाख २५ हजार ६०९ केजी बराबरको जौ रु एक अर्ब २१ करोड ८६ लाख ४८ हजार मूल्य बराबरमा आयात भएको छ। त्यस्तै, रु तीन करोड ८२ लाख ६६ हजार मूल्यमा ११ लाख ४४ हजार ५४२ केजी कोदो आयात भएको छ। विभागका अनुसार यस अवधिमा रु १८ लाख २७ हजार मूल्यमा २७ हजार १२९ केजी फापर आयात भएको छ।