जुम्ला। पर्यटक नआउँदा जुम्लाको होटल व्यवसाय संकटमा परेको छ। कोरोना महामारी अघि रारा आएका अधिकांश पर्यटक जुम्ला पुग्थे। पर्यटक बढ्दै गएपछि व्यवसायीहरूले होटलहरूमा लगानीसमेत बढाए। अहिले अधिकांश होटलहरू रित्तै बनेका छन्।
हिउँदका ३ महिना जुम्लामा पर्यटन आवागमन ठप्प हुन्छ । अत्यधिक हिमपात हुने भएकाले त्यो सिजनमा पर्यटकहरू नै आउँदैनन्। क्षेत्रीय होटल संघ जुम्लाका अध्यक्ष दिलबहादुर महतले हिउँदमा बन्द नै गर्नुपर्ने होटलहरू अहिले पनि पाहुना नआउँदा रित्तो बनेको बताए।
उनले भने, ‘अहिले ठूला लगानीका होटलहरूमा ५ वटा कोठा भरिन पनि मुस्किल छ। सिजनका बेला पर्यटक आउँदैनन्।’ कुनै महिनामा त खर्चसमेत उठाउन मुस्किल हुने उनले बताए। महतका अनुसार जुम्लामा ५० लाखदेखि २ करोडसम्म लगानी गरेका होटल मात्रै झन्डै १५ वटा छन् । अहिले ठूला लगानीका होटलहरूमा १० देखि २० जनासम्म पाहुना मात्र आउने गरेको बताए।
होटलहरूमा दैनिक ५० जनासम्म पाहुनाहरू राख्न सकिने सुविधा छ। होटल दौँतरीका सञ्चालक पदमबहादुर महतले आफूहरूसँग भएका आधा कोठा पनि नभरिँदा व्यवसाय नै धरापमा पर्न थालेको बताए। उनको होटलमा १६ वटा कोठाहरू छन्। दैनिक ८ कोठा पनि भरिन मुस्किल हुन्छ। ‘कोरोना महामारी अघिसम्म पर्यटकलाई राख्ने होला भन्ने चिन्ता हुन्थ्यो, एक साताअघि नै सबै कोठा भरिभराउ हुन्थे। अहिले पाहुना खोज्नुपर्ने बाध्यता छ, महतले भने।
साउनदेखि भने पर्यटकहरू बढ्ने आशा रहेको संघका अध्यक्ष महतले बताए । उनका अनुसार साउन, भदौ, असोज र कात्तिक महिना रारा र जुम्ला घुम्न आउने पर्यटकका लागि उपयुक्त समय हो ।
संघको तथ्यांकअनुसार कोरोना महामारी अघिसम्म एकै महिनामा ३७ हजारसम्म पर्यटक जुम्ला आएका थिए। जुम्लामा होटल व्यवसायमा झन्डै २ अर्ब रुपैयाँ लगानी भएको संघको अनुमान छ। संघका अनुसार यो व्यवसायबाट कम्तीमा ३ सय जनाले रोजगारी पाएका छन्। पछिल्लो समय राष्ट्रियस्तरका कम्पनीहरूले समेत होटलका शाखा खोल्ने क्रम बढिरहेको छ। होटल पौवाले आफ्नो शाखा खोलिसकेको छ। पर्यटकीय होटलहरूले आफ्नो मेनुमा जुम्लाको उत्पादनलाई विशेष जोड दिएका छन्।
होटल पौवाले कोदोको रोटी, फापरको रोटी, फापरको ढिँडो र मार्सी चामललगायत स्थानीय उत्पादनलाई प्रमुख परिकारका रूपमा राखेको छ। नियमित हवाई सेवा नहुँदा पनि होटल व्यवसाय समस्यामा परेको उपभोक्ता हकहित संरक्षण कार्यालयका प्रमुख श्रीकृष्ण देवकोटाले बताए। रातोपाटीबाट साभार ।