अखिल क्रान्तिकारीको महासचिवमा विक



काठमाडौँ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को महासचिवमा ललित विक चयन भएका छन्। संगठनको चौंथो पूर्ण बैठकले विकलाई महासचिवको जिम्मेवारी दिएको हो।

संगठनले बैठकबाट सचिवको जिम्मेवारी प्रकाश जप्रेल र कोषाध्यक्षको जिम्मेवारी प्रतिमा चौधरीलाई दिने निर्णय गरेको छ। त्यस्तै संगठनले शिक्षा र स्वास्थ्यमा गरिएको चरम व्यापारीकरण र माफियाकरणविरुद्ध संघर्ष केन्द्रित गर्ने निर्णय लिएको बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ।

समान, निः शुल्क वैज्ञानिक र अनिवार्य शिक्षाको लागि दबाबमूलक संघर्ष सञ्चालन गर्ने, सरकारी तथा सामुदायिक विद्यालयमा आर्थिक कारणले भाषामा गरिएको विभेदबारे संघर्ष गर्ने निर्णयसमेत बैठकले गरेको छ।

क्रान्तिकारीका नवनियुक्त महासचिव विकले संगठनले दुरगामी निर्णय लिएको भन्दै आगामी दिनमा विद्यार्थी आन्दोलनको साख जोगाउने गरी काम गरिने बताए।