काठमाडौँ। लोक दोहोरी गायिका दिलमाया सुनारले आत्महत्या गरेको प्रहरीले आशंका गरेको छ। साथै मृतक गायिका दिलमाया सुनारका बुबा केशर कामीले एक जना पुरषका विरुद्ध किटानी जाहेरी दिएका छन्।
गायिका सुनार नेपालटारस्थित कोठामा शनिबार पौने ११ बजे उनी मृत अवस्थामा भेटिएकी थिइन्। आईतबार उनका प्रेम खिलबहादुर श्रेष्ठ विरुद्ध प्रहरी वृत्ति बालाजुमा जाहेरी दिएका हुन्। तर, त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जले पोष्टमार्टमको प्रारम्भिक रिपोर्ट दिएपछि मात्रै निर्क्योल गर्ने प्रहरी स्रोतले जनाएको छ।
प्रहरी वृत्त, बालाजुका डीएसपी गौतम मिश्रका अनुसार कोठामा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको थियो। लगत्तै अनुसन्धानका लागि प्रहरीले सूर्य श्रेष्ठ नामक व्यक्तिलाई नियन्त्रणमा लिएको मिश्रले अनलाइनखबरलाई बताए।
शवको जाँचबुझमा संलग्न चिकित्सकहरुका अनुसार घाँटीमा ‘मार्क’बाहेक शरीरमा अन्य कुनै चोटपटक देखिएको छैन, त्यसैले उनले झुण्डिएर आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ। तर, घोप्टो परेको अवस्थामा शव भेटिनु र झुण्डिन प्रयोग भएको वस्तु बरामद नहुनुले घटनालाई रहस्यमय बनाएको छ। डीएसपी मिश्र भन्छन्, ‘झुण्डिएको हो वा झुण्ड्याइएको वा के हो भन्ने विषयमा साँझसम्ममा केही बताउँछौं।’
तर अनुसन्धानमा संलग्न एक अधिकृतले सुनारले सलमा झुण्डिएर आत्महत्या गरेको आशंका गरिएको अनलाइनखबरलाई बताए। उनको भनाइमा घटना भएका बेला श्रेष्ठ पनि घरमा सँगै थिए।
‘उनले सोधपुछका क्रममा बिहान ब्युँझिदा झुण्डिएको अवस्थामा देखेपछि निकालेको भनेका छन्’ ती अधिकृतले भने, ‘तर आफू आत्तिएकाले सल निकालेर लुकाएको बताएका छन्।’ त्यही आधारमा शनिबार बिहान ३ बजेपछिको समयमा घटना भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ। साथै, श्रेष्ठले भनेको स्थानमा प्रहरीले सलको खोजी थालेको स्रोतको भनाइ छ। श्रेष्ठसँग सुनार ‘लिभिङ टुगेदर’मा बस्दै आएकी थिइन्।
सुनारको फेसबुकमा शुक्रबार राति १:२० बजे ‘जिन्दगीमा धेरै उतारचढाव भोगेको र जान्ने भएर आफैं एक्लो भएको’ भन्दै स्टाटस पोष्ट भएको छ। ‘कसैको माया पाउन जति कोशिश गरे पनि पाउन सकिनँ, तर पनि हार खाइनँ’ स्ट्याटसमा भनिएको छ, ‘तर अहिले धेरै गाह्रो भयो, म बाँचेर पनि दिनदिनै मर्न सकिनँ आमा। तिम्री छोरी धेरै थाकी छे।’
स्टाटसमा आमालाई सम्बोधन गर्दै ‘बहिनी, छोरी छन्, मन बुझाउनु नरुनु’ भनिएको छ। साथै छोरालाई सम्बोधन गर्दै ‘तिमीलाई पढाउन र ठूलो मान्छे बनाउने मन थियो, जसरी भए पनि ठूलो मान्छे बन्नु है, म नभए पनि त मेरो आर्शिवाद सधैं तिमीसित हुने छ’ भनिएको छ।
फेसबुकमा आफ्नो गीत जहाँ छ, जति छ बजारमा ल्याइदिनु पनि भनेकी छन्। ‘म धेरै थाकें अब म बाच्न सक्दिनँ, यो दुनियाँ धेरै स्वार्थी छ’ स्टाटसमा भनिएको छ। ‘म आफ्नो इच्छाले यो कदम उचालेकी छु, कसैलाई दोष छैन। कसैले खोजीनीति पनि नगर्नु र पोष्टमार्टम पनि नगर्नु, मसित पैसा छैन। थोरै सुन छ, त्यो बेचेर छोरालाई दिनु’ भनिएको छ।
तर उनका आफन्त र लोक दोहोरी प्रतिष्ठानले यो आईडीबाट पोस्ट भएको स्टाटसमा पनि आशंका गरेको छ । डीएसपी मिश्र भन्छन्, ‘स्टाटसको विषय पनि अनुसन्धान भइरहेको छ।’
३० वर्षीया गायिका सुनार लाइभ दोहोरी गीतका कारण चर्चामा आएकी थिइन् । उनले ख्यातिप्राप्त लोकदोहोरी गायक राजु परियारसँग मिलेर पनि केही चलेका लोकदोहोरी गाएकी थिइन् । केही महिनाअघि सम्पन्न राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगितामा उनी उत्कृष्ट घोषित भएकी थिइन् ।