काठमाडौँ। नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्ने चार जना केन्द्रीय सदस्यलाई बर्खास्त गरेको छ ।
काठमाडौंको बबरमहलस्थित कार्की बाङक्वेटमा जारी केन्द्रीय कमिटीको चौथो बैठकले स्थानीय कमिटी र जिल्ला कमिटीको सिफारिसमा चार केन्द्रीय सदस्यलाई केन्द्रीय कमिटी सदस्यबाट बर्खास्त गरेको हो ।
निर्वाचनका क्रममा पार्टीलाई अन्तर्घात गरेको निष्कर्षसहित एकीकृत समाजवादीले झापाका लोकबन्धु कन्दङ्वा, दैलेखका तर्कबहादुर शाही, मुगुका राज्यलक्ष्मी बम मल्ला र डोटीका नारद मलासीलाई कारवाही गरेको हो ।
एकीकृत समाजवादीले बर्खास्त गरेको सबै नेता अन्य पार्टीमा प्रवेश गरिसकेका छन् । चार केन्द्रीय सदस्यलाई कारवाही गरेको एकीकृत सजवादीले रिक्त भएको चार पदमा कपिलदेव पट्टेल, पिताम्बर तिम्सिना, तोलाराज विष्ट र शंकर कुँवरलाई मनोनित गरेको छ ।