भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौं आइपुगे



काठमाडौँ। नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव आफ्नो कार्यकाल सम्हाल्न काठमाडौं आइपुगेका छन्।

उनी शनिबार दिउसो ४ः ०० बजे काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्। नेपालका लागि राजदूत नियुक्त हुनुअघि भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिवको रुपमा कार्यरत श्रीवास्तव भारतका प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणअघि मे १७ मा राजदूत नियुक्त भएका थिए।

सन् १९९३ मा भारतको परराष्ट्र सेवामा प्रवेश गरेका श्रीवास्तवले नेपालका लागि राजदूत नियुक्त हुनुअघि परराष्ट्र मन्त्रालय अन्तरगतको पूर्वी एशिया विभागको नेतृत्व गरिरहेका थिए। त्यसक्रममा उनले चीनसँगका विभिन्न चरणको कुटनीतिक वार्तामा भारतीय प्रतिनिधिको नेतृत्व गरेका थिए । लद्दाखको सीमा क्षेत्रमा विवादपछि भारत र चीनबीच विवादको स्थिति छ।

यसअघिका नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा भारतको विदेश सचिवमा नियुक्त भएको दुई हप्तापछि श्रीवास्तवलाई नियुक्ति गरिएको थियो।