काठमाडौँ। गठबन्धन सरकारले पेट्रोलियम पदार्थको निरन्तर बढ्दो मूल्यलाई ह्वात्तै घटाएर सर्वसाधारणलाई राहत दिएको छ।
सत्ता साझेदार दलहरूले सरकारलाई दिएको निर्देशनअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले एकैपटक ठूलो मात्रामा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो।
यससँगै, आज राति १२ बजेदेखि लागू हुने गरेर सरकारले पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ र डिजेल–मट्टितेलको मूल्यमा प्रतिलिटर २९ रुपैयाँ घटाएको हो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले आजै रातिदेखि लागू हुने गरेर पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिए।
घटेको मूल्यअनुसार अब उपभोक्ताले प्रतिलिटर १७९ रुपैयाँमा पेट्रोल र १६३ रुपैयाँमा डिजेल–मट्टितेल पाउँछन् । यसअघि, पेट्रोलको मूल्य प्रतिलिटर १९९ र डिजेलको मूल्य प्रतिलिटर १९२ रुपैयाँ थियो । जसमध्ये पेट्रोलमा २० रुपैयाँ र डिजेलमा प्रतिलिटर २९ रुपैयाँ मूल्य कटौती गरिएको हो।
आज बिहान बालुवाटारमा बसेको सत्ता साझेदार दलहरूबीचको सहमतिअनुसार उद्योग मन्त्री बडूले पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरे । नेपाली काँग्रेस, नेकपा माओवादी (केन्द्र), एकीकृत समाजवादी र जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच बसेको बैठकले सर्वसाधारणलाई राहत हुने गरेर तत्काल मूल्य समायोजन गर्न निर्देशन दिएपछि आजैदेखि मूल्य घटाइएको उद्योग मन्त्रालयको भनाइ छ।