सुर्खेत। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ९४ करोड ११ लाख १२ हजार ५०० रुपैयाँको बजेट ल्याएको छ।
शुक्रबार नगरसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै नगर उपप्रमुख निलकण्ठ खनालले चालुतर्फ १ अर्ब ३७ करोड ३५ लाख ७६ हजार र पुँजीगततर्फ ५३ करोड ५५ लाख ३६ हजार ५०० बजेट प्रस्तुत गरेका हुन्।
यो चालु आर्थिक वर्षको भन्दा ३७ करोड ५८ लाख ४९ हजार ९०० रुपैयाँले बढी बजेट ल्याएको वीरेन्द्रनगरले वित्तीय व्यवस्थातर्फ ३ करोड २० लाख रुपैयाँको बजेट ल्याएको छ।
नगरपालिकाले आन्तरिक आय २७ करोड २५ लाख, संघीय सर्शत अनुदान ५४ करोड ६५ लाख, संघीय राजश्व बाँडफाँड १८ करोड ३३ लाख २२ हजार, प्रदेश समानीकरण अनुदान २ करोड ९३ लाख १२ हजार, प्रदेश राजश्व वाँडफाँट ३० लाख ३३ हजार ९६७, प्रदेश सर्शत अनुदान २० करोड ४४ लाख ७२ हजार, सामाजिक सुरक्षा अनुदान ३५ करोड, चालु वर्षबाट ४ करोड ४९ लाख ७२ हजार बचत हुने स्रोतबाट खर्च व्यहोर्ने बजेट वक्तव्यमा उल्लेख छ।
नगरपालिकाले क्षेत्रगत रुपमा पूर्वाधार विकासतर्फ सबभन्दा बढी २७ करोड ६७ लाख, सामाजिक विकासतर्फ ११ करोड २९ लाख ४९ हजार, आर्थिक विकास तर्फ ६ करोड १५ लाख, वातावरण तथा विपद् व्यवस्थापनका लागि २ करोड ५२ लाख र सार्वजनिक सेवा तथा सुशासनका लागी ३ करोड २४ लाख बजेट विनियोजन गरिएको छ।
यो बजेट आगामी आर्थिक वर्षमा संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने ससर्त तर्फका कार्यक्रम बाहेकको भएको उपप्रमुख खनालले बताए। नगरपालिकाले सडक तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको बजेट ल्याएको उपप्रमुख खनालले बताए। ‘बजेटले निर्वाचनका बेला जनतासँग गरेका प्रतिबद्धता पूरा गर्नुका साथै शैक्षिक, प्रशासनिक र पर्यटकीय सहर, स्वच्छ, स्वस्थ, समुन्नत वीरेन्द्रनगर भन्ने नगरको सोचलाई सार्थकता दिनेछ’, उपप्रमुख खनालले भने।
नगरपालिकाले ‘शैक्षिक, प्रशासनिक र पर्यटकीय सहर, स्वस्च्छ, स्वस्थ, समुन्नत वीरेन्द्रनगर’भन्ने नारा अघि सारेको छ। नगरलाई आर्थिक रुपले सम्पन्न, भौतिक रुपले योजनावद्ध सहरी सुविधायुक्त, लैंगिक रुपमा महिलामैत्री, सामाजिक रुपले समावेशीरसहभागितात्मक, वातावरणीय रुपले स्वच्छ, सफा र व्यवस्थापकीय रुपले सुव्यवस्थित नगरका रुपमा विकास गर्ने योजना अघि सारेको छ।
बजेटमा मुख्य बजारमा आकाशे पुल निर्माण गनेदेखि विद्युत नपुगेका वडामा विद्युत पुर्याउनेसम्मका योजनाहरु समेटिएका छन्। बढी सवारी चाप हुने मंगलगढी र एरिचोक लगायतका क्षेत्रमा आकाशे पुलको सम्भाव्यता अध्ययन गर्ने र महिला स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने गरी नगरपालिकाले बजेट ल्याएको छ।