एकीकृत समाजवादीका १० सांसदद्वारा बिद्रोह



काठमाडौँ। नेकपा एकीकृत समाजवादीका १० सांसदले अध्यक्ष माधव कुमार नेपालविरुद्ध मोर्चाबन्दी सुरु गरेका छन्।

४ मन्त्रीसहित १० सांसदले बजेट अधिवेशन चलिरहेका बेला मन्त्रिमण्डलमा पार्टीबाट सहभागी हुने मन्त्रीहरुको हेरफेर सही मान्न नसकिने भन्दै नेतृत्वविरुद्व मोर्चाबन्दी गरेका हुन्।

विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, कृष्णकुमार श्रेष्ठ, कृष्णलाल महर्जन, गोपालबहादुर वम, विनादेवी बुढाथोकी, धनबहादुर बुढा र निरा जैरुले सचिवालय र स्थायी कमिटी बैठकको निर्णयप्रति आपत्ति जनाउदै दलको बैठक बोलाउन माग गरेका हुन्।

उनीहरुले मन्त्रिमण्डल पुनर्गठन गर्दा पुरानो टीम पुरै फिर्ता र नयाँ टिम सन्तुलित र समावेशी बनाउनुपर्ने, मन्त्री बनाउने सुरुको मापदण्ड कार्यान्वयन गर्नुपर्ने, गैह्र सांसदहरुलाई मन्त्री बनाउन नहुने, हाल प्रस्ताव गरिएका मन्त्रीहरुको नामावली असमावेशी र असन्तुलित भएकाले सच्याउनुपर्ने, बजेटका समयमा एक्कासी मन्त्री फेर्ने कुराले मन्त्रीहरु माथिको अपमानजनक व्यवहार सहन नसकिने, बजेट पास भएपछि मन्त्री पद छोड्छौ भन्ने मन्त्रीहरुको भनाईलाई कमजोरी ठान्ने लगायतका ८ बुँदे प्रस्ताव अघि सार्दै दलको कार्यालयमा सूचना दर्ता गराएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीसमेत रहेका सांसद विरोध खतिवडाले शुक्रबार बिहान ८ बुँदे माग राख्दै पत्र दर्ता गराएको बताए ।