भारतीय तिर्थालु रेलमार्फत रामायण सर्किटको यात्रामा



धनुषा। नेपाल–भारत धार्मिक पर्यटकीय सम्बन्ध मजबुत बनाउने उद्देश्यले सुरु भएको ‘रामायण सर्किट’ रेल सेवाका यात्रीले सीताको माइती आउँदा आफू गौरवान्वित भएको बताएका छन्।

उक्त रेलमा आएका यात्रीले प्रतिव्यक्ति ६२ हजार ८७० भारु तिरेर रामायण सर्किट यात्राको अनुभव लिएका हुन्। रामायण सर्किट अन्तर्गत बिहीबार पहिलो पटक करिब ५ सय यात्री लिएर भारतीय रेल जनकपुरधाम आइपुगेको हो।

रामायण सर्किट अन्तर्गत १८ दिनको यात्रा हुनेछ। यस क्रममा रामायणसँग सम्बन्धित जनकपुरधाम पनि यात्राको अङ्ग बनेको हो। रामको जन्मभूमि अयोध्या र सीताको जन्मभूमि जनकपुरधामलाई जोडेर धार्मिक यात्रालाई निरन्तरता दिने योजना अनुसार पहिलो पटक रेल सेवा शुभारम्भ गरिएको भारत गौरव पर्यटकीय रेल्वेका जनरल मेनेजर अच्युत सिंहले जानकारी दिए।

उनले एक वा दुई महिनामा एक पटक पर्यटकीय रेल दिल्लीबाट अयोध्या हुँदै जनकपुरधामसम्म आउने स्पष्ट पारे। भारतको दिल्लीबाट सुरु भएको १८ दिने रामायण सर्किट यात्रामा रहेको सो रेल ४ सय ९९ यात्रु बोकेर बिहीबार पौने २ बजे अन्तर्राष्ट्रिय सीमा पार गरी जनकपुरधाम आइपुगेको हो। रामायण सर्किटका यात्रीहरुले बिहीबार साँझ जानकी मन्दिरको दर्शन गरेका छन् भने गंगा आरतीको पूजा अर्चनामा सहभागीसमेत भए।

शुक्रबार उनीहरु धनुषाधामस्थित धनुष मन्दिरको दर्शन गरी पुनः भारतको बिहार राज्यमा पर्ने सीतामढीमा सीताको जन्मथलोको दर्शन गर्न पुग्नेछन्। रामायण सर्किट अन्तर्गत भारत र नेपालबीच पर्यटक रेल सुरु भएपछि जनकपुरधामको पर्यटन विकासमा मद्दत पुग्ने मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको भनाइ छ।

उनले रामायण सर्किट रेल चढेर आएका भारतीय पर्यटकलाई स्वागत गर्दै नेपाल–भारत बीचको सम्बन्धमा नयाँ आयाम थपिएको बताए। उनले जनकपुरधामको प्रचार प्रसार धार्मिक पर्यटकीय स्थलको रुपमा देश विदेशमा गर्नुपर्नेमा जोड दिए।

रामायण सर्किट अन्तर्गत पर्यटकीय रेल १८ दिने यात्राको क्रममा जनकपुरबाट भारतको सीतामढी हुँदै नन्दीग्राम, प्रयागराज, बनारस, ब्रम्हकेश्वर, चित्रकुट, पंचवटी नासिक, बक्सर, कर्नाटकको हम्पी, अन्जनागिरी पर्वत, रामेश्वरम हुँदै भद्राचलम र कान्चीपुरम जस्ता प्रख्यात धार्मिक स्थलहरूको भ्रमण गर्नेछ।

रामायण सर्किट यात्रामा सहभागी पर्यटकहरूबाट भारत सरकारले १८ दिनको यात्रामा खाना, आवास, पोशाक लगायतका खर्च बापत प्रति यात्रु ६२ हजार ८७० भारतीय रुपैयाँ लिएको यात्रीहरूको भनाइ छ।