काठमाडौँ। सन् २०१८ मा इस्तानबुलस्थित साउदी वाणिज्य–दूतावासमा पत्रकार जमाल खशोग्गीको हत्यापछि साउदी अरेबका युवराज मोहम्मद बिन सलमान पहिलो पटक टर्कीको भ्रमण गर्दै छन्।
त्यहाँ उनले टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानसँग दुई देशबीचको बिग्रँदै गएको सम्बन्ध सुधार गर्न वार्ता गर्नेछन्। टर्कीका राष्ट्रपति एर्दोगानले एक पटक साउदी राजकुमार मोहम्मद बिन सलमानलाई जमाल खशोग्गीको हत्यामा अप्रत्यक्ष रूपमा संलग्न भएको आरोप लगाएका थिए।
उनले साउदी एजेन्टले युवराज मोहम्मदको आदेशमा खशोग्गीको हत्या गरेको बताएका थिए। यद्यपि, युवराजले हत्यामा उनको संलग्नता अस्वीकार गरेका थिए। साउदी अरेबका राजकुमार मोहम्मद बिन सलमानको यो भ्रमण टर्कीको अर्थतन्त्र लगातार कमजोर बन्दै गएको समयमा भएको छ।
अर्थतन्त्र सबल बनाउनको लागि टर्कीले व्यापार, लगानी र आर्थिक सहयोगको मोर्चामा साउदी अरबको सहयोग चाहन्छ। लामो तनावपछि टर्कीले केही महिनादेखि संयुक्त अरब इमिरेट्स९युएई०, इजिप्ट र इजरायलसँग आफ्नो सम्बन्ध सुधार्ने प्रयास सुरु गरेको छ। यसबीच, साउदी युवराज मोहम्मद बिन सलमानले पनि उनको देशको एकाकींपन अन्त्य गर्न चाहेका छन्। यसै उद्देश्यको लागि उनले यो साता जोर्डन र इजिप्टको भ्रमण गरे।
उनले अर्को महिना अमेरिकी राष्ट्रपति जो बाइडेनसँग पनि भेट्ने कार्यक्रम छ। कुनै बेला बाइडेनले खशोग्गीको हत्यापछि साउदी अरेबियालाई ‘एक्ल्याउने’ वाचा गरेका थिए । अमेरिकी वाशिंगटन पोस्टका स्तम्भकार र युवराज मोहम्मदका आलोचक जमाल खशोग्गी अन्तिम पटक टर्कीको इस्तानबुलमा रहेको साउदी अरबको वाणिज्य दूतावासमा अक्टोबर २, २०१८ मा देखिएका थिए। उनी आफ्नी फियान्से हेटिस सेन्गिजसँग विवाहका लागि आवश्यक कागजात लिन त्यहाँ गएका थिए । तर त्यसपछि उनी बेपत्ता भए।
एक संयुक्त राष्ट्र संघको एक खोजले खशोग्गीलाई साउदी अरेबियाबाट पठाइएको एजेन्टहरूको १५ जनाको एक टोलीले ’क्रुरतापूर्व मारेको’ र उनको शवलाई टुक्राटुक्रा बनाएको निष्कर्ष निकाल्यो । टर्कीको गुप्तचर एजेन्सीले उपलब्ध गराएको वाणिज्य दूतावासभित्रको भनिएको अडियो रेकर्डिङ सुनेपछि उक्त दाबी आएको हो । टर्कीका राष्ट्रपति रिसेप तैयिप एर्दोगानले साउदी युवराजलाई प्रत्यक्ष आरोप नलगाए पनि उनले खशोग्गीलाई मार्ने आदेश साउदी सरकारको उच्च तहबाट आएको दाबी गरेका थिए ।
अमेरिकी गुप्तचर एजेन्सीहरूले खशोग्गीलाई पक्रन वा हत्या गर्नका लागि युवराज मोहम्मद बिन सलमानले एक विशेष अपरेशन पठाएको निष्कर्ष निकालेका छन् । तर साउदी अधिकारीहरूले उनको हत्याको लागि ‘नियन्त्रण बाहिर गएका दुष्ट’ एजेन्टहरूलाई दोष दिदै त्यसबारे युवराजलाई कुनै जानकारी नभएको बताउँदै आएका छन् । जमाल खशोग्गीको हत्या भएको एक वर्षपछि साउदी अरबको अदालतले पाँच जना अपरिचित व्यक्तिलाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनायो । पछि तिनको सजाय २० वर्ष कैदमा परिवर्तन गरिएको थियो ।
त्यसबाहेक, अन्य तीनलाई अपराध ढाकछोप गर्न मद्दत गरेकोमा ७ देखि १० वर्षसम्मको जेल सजाय सुनाइएको छ । गत हप्ता, टर्कीका राष्ट्रपति एर्दोगानले युवराज मोहम्मदसँगको वार्तामा दुई देशबीचको सम्बन्धलाई ‘उच्च तहमा’ उठाउने प्रयास गर्ने बताएका थिए । टर्कीका एक वरिष्ठ अधिकारीले रोयटर्स समाचार एजेन्सीलाई बताए अनुसार युवराजको टर्की भ्रमणले ‘सम्बन्धको पुर्व अवस्थामा फर्काउने’ आशा व्यक्त गरेको बताए । भ्रमणका क्रममा दुई नेताले ऊर्जा, अर्थतन्त्र र सुरक्षासम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने पनि उनले बताए ।
टर्कीको मुख्य विपक्षी रिपब्लिकन पिपुल्स पार्टी (सीएचपी) का नेता केमाल किलिचदारोग्लुले एर्दोगानले जमाल खशोग्गीको हत्याको आदेश दिने व्यक्तिलाई अँगालो हाल्ने निर्णय गरेकोमा आलोचना गरेका छन् । यस वर्षको अप्रिलमा एर्दोगानले साउदी अरबको ऐतिहासिक भ्रमणका क्रममा युवराज मोहम्मद बिन सलमानसँग भेट गरेका थिए । त्यही क्रममा उनले राजकुमारलाई सार्वजनिक रुपमा अँगालो हालेका थिए । टर्कीले उक्त भ्रमणलाई ‘सहयोगको नयाँ चरण’को संज्ञा दिएको थियो ।
एर्दोगानको साउदी अरब भ्रमणको तीन हप्ता अघि इस्तानबुलको एक अदालतले खशोग्गी हत्याका आरोपी र युवराजका दुई सहयोगीहरु सहित २६ साउदी नागरिकहरूको अनुपस्थितिमा मुद्दाको सुनुवाइ रोक्न आदेश दिएको थियो । न्यायाधीशले मुद्दा साउदी अरबलाई सुम्पन आदेश दिएका थिए । वास्तवमा, साउदी अरबले संदिग्धहरूलाई टर्कीलाई सुम्पन अस्वीकार गरिदिएको थियो । मानव अधिकारकर्मी र खशोग्गीकी फियान्सेले टर्कीस अदालतको निर्णयको निन्दा गरेका छन् ।