काठमाडौँ। आज विहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४५ अंक घटेर बन्द भएको छ। कारोबार समयदेखि घट्न सुरू गरेको नेप्से परिसूचक ४५ अंक घटेर १८ सय ४८ अंकमा आइपुगेर बन्द भएको हो। आज परिसूचक २।३९ प्रतिशतले घटेको हो।
कारोबार सुरू भएको २ घण्टाको अवधिमा परिसूचक ५५ अंकसम्म घटेको थियो। जुन अन्तिम समयमा केही सुधार हुँदै ४५ अंक मात्रै घटेर बन्द भएको हो । यसक्रममा आज १ अर्ब ४९ करोड रुपैयाँ बराबरको ५० हजार कित्ता सेयर किनबेच भएको छ।
बजार उच्च अंकले घटेपनि आज दुई वटा कम्पनीको सेयर मूल्यमा सकरात्मक सुधार आएको छ। आँधिखोला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशत र सीवाई नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा ९ प्रतिशतको सुधार आएको हो। आज कारोबारमा आएकामध्ये १० वटा कम्पनीको मात्रै सेयर मूल्य बढेको छ। बाँकी सबै कम्पनीको सेयर मूल्य घटेको छ।
बजार घटेको दिन आज सबै समूहमा गिरावट आएको छ। जसमध्ये जीवन बीमा समूहमा २१८ अंकको गिरावट आउँदा निर्जीवन बीमा कम्पनी समूहको १४३ अंक घटेको छ। यसैगरी, विकास बैंक समूहमा ११९ अंकको र लघुवित्त समूहमा १०२ अंकको गिरावट आएको छ।
आज शीवश्री हाइड्रोपावर र लिबर्टी इनर्जी कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको छ। यसबाहेक, आज अधिकांश कम्पनीको सेयर मूल्यमा भारी गिरावट आएको छ। आज कुमारी बैंक लिमिटेडको सेयर सबैभन्दा धेरै कारोबार भएको छ। आज उक्त कम्पनीको ९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको हो।