काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनमा चाहिनेभन्दा बढी आशा नगर्न आग्रह गरेका छन्।
स्थानीय तहका जनप्रतिनिधिलाई ललितपुरमा सम्बोधन गर्दै प्रचण्डले सकेसम्म आफ्नै संगठनको बलमा चुनाव जित्नेगरी लाग्न सुझाव दिए। ‘आगामी प्रदेश र संघको चुनावसम्म गठबन्धन जान्छ। गठबन्धनमा यसअघि हामीले चाहिनेभन्दा बढी आश गर्यौं। त्यति आश नगरौं। भए ठिकै छ। नभए एक्लै भिड्ने हो भन्नेगरी तयारी गर्यौ भने मात्रै गठबन्धन हुन्छ’ प्रचण्डले भने, ‘चुनाव जितिहालिन्छ भनेर रिल्याक्स नगरौ। चुनाव जितिहालिन्छ दुःख किन गर्नुपर्यो? भनेर गल्ती नगरौं । गठबन्धन भएपनि नभएपनि सम्पूर्ण तागतका साथ अघि बढ्यौ भने मात्रै चुनाव जित्छौ।’
आगामी साउन १५ गतेसम्म उम्मेदवार टुंगो लगाई सक्नेगरी कोसिस भइरहेको प्रचण्डले बताए। ‘हाम्रो कोसिस साउन १५ गतेसम्म उम्मेदवारको टुंगो लगाइसक्ने भन्नेछ। किनकि चुनावी तयारीका लागि प्रयाप्त समय होस्। उम्मेदवार छान्दा जित्ने कुरालाई र लोकप्रियतालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने भयो।’ अरुभन्दा चुनाव जित्नेलाई बढी प्राथमिकता दिएर टिकट दिनुपर्ने अवस्था आएको प्रचण्डले बताए। हामीले स्थानीय चुनावमा अरु कुरालाई प्राथमिकता दिएर टिकट बाँडियो। परिणाममा हारियो’ प्रचण्डले भने, ‘आगामी प्रदेश र संघको चुनावमा आग्रह पूर्वाग्रह नलिएर जित्न सक्ने उम्मेदवार र जनताले मन पराएका उम्मेदवार छान्ने कोसिस गर्नेछौ।’
अहिले पनि सत्ताको चाबी माओवादीसँगै भएपनि काँग्रेस वा एमालेसँग मिल्नैपर्ने बाध्यता भएको प्रचण्डले बताए। ‘अहिले हामी कि काँग्रेससँग मिलेर जानुपर्ने कि एमालेसँग मिलेर जानुपर्ने जस्तो स्थिति भएको छ। अहिले चाबी हाम्रै हातमा छ। त्यो चाबी एउटा न एउटासँग मिल्नुपर्ने तब मात्रै ताला खुल्छ। ताला खुल्न एउटासँग मिल्नै पर्नेछ’ प्रचण्डले भने, ‘प्रदेश र संघको चुनावमा हाम्रो सपना हामी अरूसँग मिल्न जाने होइन अरु हामीसँग मिल्न आउनुपर्यो। काँग्रेस र एमाले माओवादीसँग नमिले उनीहरुको उपाय नहुने ठाउँमा पुयाउनपर्यो। त्यो आधार छ।’