काठमाडौँ। अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पका कारण करिब १,००० जनाको मृत्यु भएको र सयौँ मानिस घाइते भएको तालिबान सरकारका अधिकारीहरूले बताएका छन्।
पाक्तिका प्रान्तबाट प्राप्त तस्बिरहरूमा पहिरो गएको र कच्ची घरहरू भत्किएको देखिन्छ। उद्धारकर्ताहरू त्यहाँ घाइतेको उपचारमा दौडधुप गरिरहेका छन्। यसअघि सामाजिक सञ्जालमा प्रेषित तस्बिरहरूमा स्ट्रेचर, भग्नावशेषहरू र भत्किएका घरहरूबाट घाइते ओसारिएको देखिएको थियो। दुर्गम स्थानहरूमा हेलिकप्टर प्रयोग गरेर घाइतेहरूलाई अस्पताल लगिएको छ।
तालिबान नेता हिबतुल्लाह अखुन्जादाले भूकम्पका कारण सयौँ घरहरू भत्किएको र मृतकको सङ्ख्या बढ्न सक्ने बताएका छन्। यसअघि विपद् व्यवस्थापन हेर्ने उनका सहायक मन्त्री शरफुद्दिन मुस्लिमले एउटा प्रेस सम्मेलनमा कम्तीमा ९२० जनाको मृत्यु भएको र थप ६०० जना घाइते भएको बताएका थिए। भूकम्पको केन्द्रबिन्दु दक्षिणपूर्वी अफगानिस्तानको खोस्त सहरभन्दा झन्डै ४४ किलोमिटर टाढा रहेको बताइएको छ। मध्यरातपछि भूकम्प आएको बेला धेरै मानिसहरू सुतिरहेका थिए।