काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू देशको प्रधानमन्त्री बन्न योग्य रहेको बताएका छन्। चुनावपछि प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गर्ने उनले संकेत गरेका छन्।
कान्तिपुर टेलिभिजनको एउटा टक शोमा उनलाई तपाईँ आफूलाई प्रधानमन्त्री पदका लागि योग्य सम्झिनुहुन्छ ? भनी सोधिएको थियो।
गगनले तत्काल जवाफ दिए, ‘अफ कोर्स।’
अहिल्यै ?
हो ।
गगनले अब सोच्ने मात्र नभई प्रयास गर्ने बताए।
‘कहाँ सोच्ने मात्र, यसपालि त प्रयास गर्ने हो। सकिन्छ सकिँदैन थाहा छैन, तर प्रयास अवश्य गर्छु,’ थापाले भने।
उनले पहिले प्रधानमन्त्री भइसकेका नेताहरू अबको चुनावपछि दौडमा सामेल नहुन आग्रह गरे।
थापाले भने, ‘उहाँहरू सबैप्रति मेरो सम्मान छ। तर अबको चुनावपछि कुनै पनि पार्टीको कोही व्यक्ति फेरि प्रम भइदिएर नेपाललाई थप गुन लगाइदिनुपर्ने कारण छैन। अब हामीलाई मौका दिनुस्। हामी हाम्रो पुस्ताका साथीहरू बीच प्रतिस्पर्धा गर्छौँ । हामीले पनि केही अनुभव गरेर आइसक्यौँ। सक्यौँ भने डेलिभर गर्छौँ, नत्र हामीलाई हटाएर अर्को आउँछ।’