‘समयमै चुनावी तालमेलको मोडालिटी र सिट बाँडफाँड गर्नुपर्छ’



काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समयमै चुनावी तालमेलको मोडालिटी र सिट बाँडफाँड गर्नुपर्ने बताएका छन्।

चुनावको मिति घोषणा नभएपनि सत्ता गठबन्धनभित्र आगामी कात्तिक मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको विषयलाई लिएर चुनावी तालमेलको मोडालिटी र सिट बाँडफाँट गर्नुपर्ने आवाज उठेको हो।

खासगरी सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रले काँग्रेस सभापति शेरबहादुर देउवासँग यसबारे भेटेर चुनावी तालमेलको मोडालिटी र सिट बाँडफाँटमा ढिला गर्नु नहुने बताएका हुन्।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले गठबन्धनका शीर्ष नेताबीचको छलफलमा तालमेलको मोडालिटी र सिट बाँडफाँडबारे कुराकानीको सुरुवात भएको बताए। उनले गत स्थानीय निर्वाचनको पाठ सिकेर गठबन्धनले सिट बाँडफाँडमा ढिलाइ गर्न नहुने अध्यक्ष नेपालको भनाइ छ।

‘आसन्न चुनावका लागि तालमेल र सिट बाँडफाँड गर्न ढिला गर्न हुँदैन । मंसिर महिनामा चुनाव हुने आधार मान्दा हामीले अहिलेदेखि नै छलफल चलाउनुपर्छ। उम्मेदवारको बारेमा या भनौं सिट विभाजनको बारेमा छलफल चलाउनुपर्ने आवश्यकता छ’, अध्यक्ष नेपालको भनाइ छ।

उनले स्थानीय तह निर्वाचनमा गठबन्धनतिर गीत गाउन थालेकाले अपेक्षित परिणाम आउन नसकेको बताए। आइतबार सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष नेपालले भने, ‘विगतको चुनावमा भएका त्रुटीहरूलाई लिएर अब नकारात्मक धारणा राख्न आवश्यक छैन।’

अध्यक्ष नेपालले विगतमा महानगर र उपमहानगर बाहेकमा गठबन्धन गर्न प्रदेश र जिल्लालाई छोड्नु नै घातक भएको आफ्नो पार्टीको विश्लेषण रहेको पनि बताए।