महिलाले आत्महत्या गरेपछि बीपी प्रतिष्ठानका चिकित्सक पक्राउ



सुनसरी। सुनसरीको धरानस्थित एक होटलमा २६ वर्षीया महिलाले आत्महत्या गरेकी छन्।

धरान–१० स्थित जनहित गेष्ट हाउसमा २६ वर्षीया महिला प्रकृति सुवेदीले झुण्डिएर आत्महत्या गरेपछि प्रहरीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत एक चिकित्सक शुक्रबार पक्राउ परेका छन्।

पक्राउ पर्ने चिकित्सक वीरगञ्ज महानगरपालिका–२३ वर्षीय करण यादव भएको धरानस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक गजेन्द्र रायले जानकारी दिए। बाराको कलैया माइतीघर भई रौतहटको पौरही–५ मा विवाह गरेकी प्रकृति सुवेदी डा.यादवलाई भेट्न आएका बेला बिहीबार धरान–१० स्थित जनहित गेष्ट हाउसको कोठामा तन्नाको पासो लगाएर आत्महत्या प्रयास गरेका थिइन।

पासो लगाएको अवस्थामा फेला पारेपछि सुवेदीलाई तत्काल बीपी प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरी आईसीयूमा उपचार भइरहेको थियो। आईसीयूमा उपचार गर्दागर्दै महिलाको मृत्यु भएपछि अनुसन्धानका लागि डा.यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मृतक प्रकृति सुवेदी र डा. यादवबीच चिनजानको सम्बन्ध देखिएको प्रहरी निरीक्षक रायले जानकारी दिए। डा.यादवले नै बोलाएर सुवेदी गत बिहीबार धरान आएको पाइएको छ।

डा.यादव प्रतिष्ठानमा मेडिकल अफिसरका रूपमा कार्यरत छन्। सुवेदीका लागि गेष्ट हाउसको कोठा डा. यादवले नै बुक गराएको पाइएको छ। महिलाले ढोका नखोलेपछि गेष्ट हाउसका कर्मचारीले डा. यादवलाई बोलाएका थिए। डा. यादवले आएर ढोका खोल्दा तन्नाको पासो लगाएर सुवेदी झुण्डिएको अवस्थामा भेटिएका थिए।

सुवेदीलाई तत्काल प्रतिष्ठानमा भर्ना गरेर उपचार गर्दा गर्दै शुक्रबार बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक रायले बताए। नौ बर्षकी छोराकी आमा सुवेदी र उनका श्रीमान केही वर्षदेखि अलग्गै बस्दै आएको र दम्पतीबीच सम्बन्धविच्छेदको प्रक्रिया चलिरहेको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दम्पतीबीच सम्बन्धविच्छेदको कानुनी प्रक्रिया चलिरहेका बेला पछिल्लो समय सुवेदी र अविवाहित डा.यादवबीचको सम्बन्ध नजिकिँदा काठमाडौंबाट धरान भेट्न आएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

मृतक सुवेदीका आफन्त धरान आइसकेकाले उनीहरुले दिने जाहेरीको आधारमा डा.यादवमाथि आवश्यक अनुसन्धान अघि बढ्ने प्रहरी निरीक्षक रायले बताए। उनले आत्महत्या दुरुत्साहन र कर्तव्य ज्यानसम्बन्धी मुद्दा चल्न सक्ने जानकारी दिए। उनले मृतक महिलाको पोष्टमर्टम रिपोर्ट आएपछि घटनाबारे थप अनुसन्धान अगाडि बढ्ने बताए।