‘कांग्रेसले कम्युनिस्टको सहयोगमा कम्युनिस्टलाई नै साइजमा ल्यायो’



काठमाडौँ। नेकपा एमालेभित्र वाम एकताको बहस चलाउँदै आएका नेता घनश्याम भुसालले स्थानीय चुनावमा आएको परिणामले यदि कम्युनिस्ट पार्टी एक भएर प्रतिस्पर्धा गरेको भए ५७५ वटा पालिका जित्ने दाबी गरेका छन्।

बुधवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता भुसालले कांग्रेसको साथ लिएर १०६ बाट १२१ पालिका जितेका माओवादी त्यसै दंग परेको र गठबन्धनमा धोका भएको भन्दै एकीकृत समाजवादी अलमलिएको बताए।

भुसालले अहिले पनि नेपालमा वाम जनमत बलियो रहेको र अहिलेका तीन वटा कम्युनिस्ट पार्टी मिलेर लडेको भए ५७५ सिट जित्ने दाबी गरे। अहिले पनि चुनावअघि नै वामपन्थी गठबन्धनको सम्भावना रहेको भुसालले बताए।

भुसालले भने– चुनाव आइसक्यो असम्भव छ भन्दै छन् तर म भन्छु सम्भव छ। मैले माधव र प्रचण्डसँग धेरै पटक सोधेको छु,पछिल्लो पटक कमरेड ओलीसँग सोधेको छु। बिचारमा यो प्रचण्ड र माधवजीको पार्टीसँग के चाहिँ भिन्नता हो एउटा भन्दिनुस्। सिद्धान्तमा के भिन्नता,संगठनात्मक के भिन्नता। भिन्नता छ त केबल गालीगलौज छ।

अहिले कांग्रेसले माछाको तेलमा माछा फ्राई गरेजस्तै कम्युनिस्टसँग मिलेर कम्युनिस्टलाई पराजित गर्न सफल भएको भुसालको टिप्पणी छ। पछिल्लो समयमा पार्टीभित्र उम्मेदवारसमेत आउटसोर्सिङ गर्न थालिएको र कार्यकर्ताको औचित्य सकिएको भुसालको भनाइ छ। यही तरिकाले अब समाजवाद पनि आउटसोर्सिङ हुने अवस्था आउने भन्दै उनले दलाल पुँजीवाद अर्थमन्त्रलायभित्र करकार दर हेरफेर गर्न प्रवेश गरिसकेको बताए।