‘ओलीले माधवको नाम लिएर कुल्ला गर्दा कार्यकर्ताहरुले बान्ता गर्छन्’



काठमाडौँ। नेकपा एमालेका नेता घनश्याम भूसालले प्रतिनिधिसभा विघटन कुनै पनि हिसाबले क्षम्य नभएको टिप्पणी गरेका छन्।

बुधबार काठमाडौंमा आयोजित कम्युनिस्ट आन्दोलन, संकट र अबको बाटो विषयक कार्यक्रममा बोल्दै उनले संविधानमा संसद विघटन गर्न नपाइने व्यवस्था गरेकाले संसद विघटन क्षम्य हुन नसक्ने बताएका हुन्।

‘संसद २०१७ मा राजाले हानेर के भयो ? २०४८ पछि दरबार, माओवादी र भारतको तारो भएर अकालमा संसद मरेको थियो। संसद विघटन गर्न नपाइने भनेर संविधानमा लेख्यौं। संसद विघटन क्षम्य हुनै सक्दैन’, उनले भने, ‘बच्चाको टाउको लिखा पर्‍यो भनि पेट्रोल छर्केर जे जे गर्न पर्ने हो गरियो।’

उनले अहिले कम्युनिस्ट पार्टीहरु आफ्नै कारणले खुम्चिनुपरेको पनि बताए। नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी तीन कम्युनिस्ट पार्टी एक ठाउँमा रहेका भए स्थानीय ५७५ पालिकामा जित निकाल्ने उनले दाबी गरे। ‘५७५ सिट जित्थ्यौं। ५७५ सिट जितेको पार्टीले आउँदो मंसिरको निर्वाचन कसरी प्रतिक्षा गरेको हुने थियो रु अहिले हामी चुनाव भन्ने वित्तिकै के होरके हो भन्‍ने ठाउँमा छौं’ उनले भने।

तत्कालिन नेकपाबाट विभजित तीन दलले पाएको सीट जोड्दा पनि कांग्रेसको भन्दा बढी मत भएको उनले सुनाए। सबैको जोड्दा बढी सिट हुने भए पनि कम्युनिस्टहरु त्रसितकै अवस्थामा रहेको बताए ।

‘१२२ वाला (माओवादी केन्द्र) शेरबहादुर देउवाको डोली बोकेर थाकेको छैन, एकीकृत समाजवादी कांग्रेस र माओवादीले धोको दिए भनेर बसेको छ’ भूसालले भने, यता हामीले ‘चुनावअघि यसो हेर्‍यौं हामी जित्छौं भन्यौं। चुनावको अलि अलि नतिजा आउन थालेपछि अन्तर्घात भयो भन्यौं। पूरै परिणाम आएपनि धाँधली भएर यस्तो भएको भन्यौं।’

एमालेले सारा मानिसहरुलाई झुठ बोलेको भन्दै नेता भूसालले माथि झगडा गरेका कारणले परिणाम राम्रो ननिस्केको भनेर सत्य बोल्न नसकेको उनको भनाइ छ। ‘वामपन्थी मोडेल दिन सक्थ्यौं, हामीले गुमायौं। यस्तो नुन खाएको कुखुरा जस्तो हुनुपर्ने थिएन’ भूसालले भने।

ओलीले कुल्ला गर्दा बान्ता नगरे खाँटी कार्यकर्ताको योग्यता पुग्दैन

कार्यक्रममा भुसालले कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूले गालीगलौजको संस्कृति बसाउँदै गएकाले कार्यकर्तामा त्यही रोग सल्किएको टिप्पणी गरेका छन्।

भुसालनिकट युवाहरूले वाम आन्दोलनको संकट र एकताबारे आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गलत संस्कार र संस्कृति माथिबाटै सिकाइएको र खाँटी कार्यकर्ता बन्न तल प्रतिस्पर्धा हुँने गरेको बताए।

भुसालले भने, ‘कमरेड प्रचण्डले एमालेको पत्तासाफ गर्छौं भन्नासाथ माओवादीका साथीहरू लाठी डण्डा लिएर उभिन्छन्। माधव नेपालले एमालेलाई धुला चटाउँछु भनेपछि एकीकृत समाजवादीका कार्यकर्ता केपी ओलीको पुत्ला बोकेर निस्कन्छन्। अनि केपी ओलीले माधव नेपालको नाम लिएर कुल्ला गरेपछि कार्यकर्ताले बान्ता गर्नैपर्छ, त्यति नगरे योग्यता नै पुग्दैन।’ भुसालले कम्युनिष्ट आन्दोलनभित्र विचार चिन्तन र अध्ययनको प्रवृत्ति कमजोर भएकोमा चिन्ता व्यक्त गरे।

वाम एकताका पाँच विकल्प

भुसालले कम्युनिष्ट पार्टीहरुका सामुन्ने एकता वा सत्यानास बाहेक अरु विकल्प नरहेको भन्दै वामपन्थी एकताका लागि पाँचवटा उपाय अघि सारेका छन् ।

भुसालनिकट युवाहरूको समूहले बुधबार राजधानीको राष्ट्रियसभागृहमा अयोजना गरेको वामपन्थी आन्दोलनको संकट र वाम एकताको उपायका बारेमा आयोजित प्रवचन कार्यक्रममा नेता भुसालले माफी सप्ताह आयोजना गरेर भने पनि चुनावअघि नै वामपन्थी मिल्नुपर्ने बताए।

भुसालले चुनावपछि पार्टी एकता गर्नेगरी तत्कालका लागि वाममोर्चा घोषणा गर्न सकिने बताए। उनका अनुसार वापमन्थी एकताका लागि पाँचवटा उपाय छन्। ती उपाय सुझाउँदै उनले तत्कालीन नेकपामा केपी ओली र प्रचण्डले गोप्य सम्झौताबाट गरेको पार्टी एकता सिद्धान्तहीन थियो भन्न सक्नुपर्ने बताए।

आधा कार्यकाल प्रधानमन्त्री बाँडेर गरिएको सम्झौता बाहिरिएपछि नै पार्टी एकतामा समस्या आएको भन्दै उनले त्यो सम्झौतबाट गरिएको एकता गलत थियो भनेर अबको एकताको उपाय खोजिनुपर्ने बताए।

भुसालले त्यसपछि संसद विघटन गलत थियो भनेर स्वीकार गर्नुपर्ने अर्को उपाय अघि सारेका छन्। त्यस्तै चुनावपछि हुने पार्टी एकता र महाधिवेशनलाई लक्षित गरेर सिद्धान्तअनुकूलको कार्यक्रम र संगठनात्मक संरचना बनाउनुपर्ने भुसालले बताए।

भुसालले अघि सारेको चौथो उपाय तत्कालै चुनावी वाममोर्चा घोषणा गर्छौं भनेर सबैले प्रतिबद्धता जनाउनुपर्ने छ । उनले त्यसो भएपछि साउन १ गतेबाटै माफी सप्ताह आयोजना गरी विगतमा भएका सबैका गल्तीप्रति माफी मागेर नेकपालाई पुनः एकताबद्ध बनाउन सकिने बताए ।