काठमाडौँ। नेकपा एमालेका नेता घनश्याम भुसालले मुलुकले डरलाग्दो संकट भोग्नु पर्ने अवस्था प्रमुख राजनीतिक दलका नेताहरुकै कारण आएको बताएका छन्। नेकपा विभाजन र संसद विघटनबाट अस्थिरता सुरु भएको भुसालको दावी छ।
बुधबार काठमाडौमा आयोजित ‘कम्युनिस्ट आन्दोलनः संकट र अबको बाटो’ विषयक अन्तरक्रियामा कम्युनिस्ट आन्दोलन र नेपालमै संकट आउनु ‘हाम्रै कारण’ भएको बताए। उनले नेकपा विभाजन र संसद विघटन गर्नु गम्भीर गल्ती भएको भन्दै जनताले दिएको विश्वासमाथि विश्वासघात हुँदा विदेशी हस्तक्षेप बढ्दै गएको बताए। हाल अमेरिकाबाट स्टेट पार्टनरसीप प्रोग्राम एसपीपीको प्रस्ताव आउनु पनि त्यसैको परिणाम भएको भुसालको भनाइ छ।
‘तमाम कारण भन्न सकिन्छ। तर मूलत हामीले भन्नुपर्दा हाम्रो कारणले हो। जनताले त्यो विश्वासका साथ हामीलाई दिएको जनमत कदर गर्न सकेनौ’, उनको भनाइ छ। नेता भुसालले आफुले ‘कम्युनिस्ट एकता कि सत्यानाश’ भन्ने बुझेर नै एकताको बहस गरिरहेको भन्दै एमाले, माओवादी र नेकपा समाजवादीबीच विचारमा कुनै भिन्नता नभएको दावी गरे। ‘भिन्नता छ भने गालीगलौजमा मात्रै छ’, भुसालको भनाइ छ। उनले हिँड्ने प्रस्थानविन्दु, एउटै भएपनि अहंकारका कारण समस्या भएको बताए।
‘अहंकार केवल अहंकार’, भुसालले भनाइ छ। उनले देशभरका युवाहरुलाई तीनवटै पार्टीका नेताहरुलाई ‘किन फुट्यौ रु’ भनेर प्रश्न सोध्न आग्रह पनि गरे । ‘देशभरका युवाले किन तिमीहरु किन फुट्यौ? भनेर हामी सवैले सोध्यौ भने सम्भवत एक महिनाभित्र एकता गर्न सकिन्छ’, भुसालको भनाइ छ। उनले जनयुद्ध र जबजलाई मागी खाने भाँडो नबनाउन आग्रह गरेका छन्।