काठमाडौँ। अमेरिकामा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग टु श्रृंखला अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको छ।
आसिफ शेख र कुशल भुर्तेलले ओपनिङमा कीर्तिमानी साझेदारी गरेपछि ओमानले दिएको १६४ रनको लक्ष्य नेपालले ३३।१ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो।
लिग टुमा सातौं जित निकालेको नेपाल १५ खेलबाट १५ अंक जोडेर पाँचौ स्थानमा उक्लेको छ। अब नेपालले श्रृंखलाको अन्तिम खेलमा आजै अमेरिकासँग खेल्नेछ।
आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ११४ रनको शतकीय साझेदारी गरे। नेपालले ओपनिङका लागि एकदिवसियमा गरेको यो नै ठूलो साझेदारी हो। यसअघि आसिफ र कुशलले नै गत वर्ष ओमानमा अमेरिकाविरुद्ध पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए।
अमेरिका भ्रमणमा नेपालले पहिलो जित निकाल्दा आसिफले ८६ बल खेल्दै ७ चौका र १ छक्का मद्दतमा ६२ रन बनाए। यस्तै कुशलले ७५ बल खेल्दै ५ चौका मद्दतमा ५६ रन जोडे। देव खनाल १० रन बनाएर आउट भए। रोहित पौडेलले अविजित २६ रन बनाए। ओमानका फयज बटले २ तथा खावर अलीले १ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमान ४६.१ ओभरमा सबै विकेट गुमाएर १६३ रनमा अलआउट भएको थियो । ओमानका लागि कप्तान जिसन मक्सुदले सर्वाधिक ५२ रन बनाए । यस्तै सन्दिप गौडले४७ रन जोडे । ४९ रनमा ५ विकेट गुमाएको अवस्थामा मक्सुद र गौडले ८३ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए । यस्तै ओपनर जतिन्दर सिंहले २३ र नसिम खुशीले १० रन जोडे । फयज बट १३ रनमा अविजित रहे।
नेपालका लागि करण केसीले ९ ओभरमा ३३ रन खर्चेर ५ विकेट लिए। उनले पहिलो खेलमा ओमान विरुद्ध नै ५ विकेट लिएका थिए। यस्तै कप्तान सन्दीप लामिछानेले १० ओभरमा ४७ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए।