काठमाडौँ। काठमाडौँ महानगरका मेयर बालेन साह हाल चर्चाको शिखरमा छन्। उनको समाचार नबनेको र उनका बारेमा चर्चा नभएको दिन छैन। नगरसभाको पहिलो बैठकमा होस् या फोहोर व्यवस्थापनका क्राममा देखाएका रुखो बोली चर्चामा रहे। उनले लाखौको जागिर छोडेको र ८०औं विघा जमिनको धाक मारेको भन्दै आलोचना पनि भए।
राजनीतिमा लाग्ने जम्मैले भन्ने कुरा नै समाजसेवा गर्न आएको हुँ, साथ दिनुहोस्, काम गर्न दिनुहोस् नै भन्छन्। तर, धन दौलत र जागिरको धाक भने कमैले देखाउछन्। त्यो पनि बारम्बार बालेनले सम्पत्ति ध्वाँस देखाइ रहन्छन्। यस्ता प्रवृत्ति देखेर केही उनका आचोलकहरुले उनलाई अपरिपक्व व्यक्ति भनेर भन्छन्।
अर्कोतिर राजनीति परिर्वतन, आन्दोलन र राजनीति विज्ञानबारे उनी त्यति जानकार देखिएनन्। तर, उनले काठमाडौँलाई विश्वकै उत्कृष्ट महानगर बनाउने सपना देखेका छन्। त्यो पनि पाँच वर्षभित्र। लोकतन्त्रमा आलोचना हुन्छ, विरोध हुन्छ, तर्क विर्तकहरु हुन्छन्। तर, आलोचनालाई गालीका रुपमा बुझ्ने उनको अपरिपक्व चेतनामा आलोचकहरुले प्रश्न उठाएका छन्। साथै विश्वकै उत्कृष्ट महानगर बनाउने कुरा यसरी सम्भावना नहुने उनीहरूको तर्क छ।
उनी आलोचना सुन्न नसक्ने व्यक्तिका रुपमा देखा परेका छन्। नगरसभाचको पहिलो बैठकमा आलोचना भएपछि सानो स्वरले बोलेपनि हुन्छ भन्दै जंगिएका थिए। त्योभन्दा पहिले पत्रकारहरुलाई रुखो बोलेका थिए। सिसडोलमा पुगेर जनताका बीचमा पनि उनले भरखर त म आएको चार दिनभयो भन्दै चर्को स्वरमा बोलेका थिए। उनको बोली र व्यवहारमाथि धेरै टिप्पणी गर्ने बेला त भएको छैन, तर हुने विरुवाको तिल्लो पात भनेझैं उनमा राजनीति चेतना र चैतन्यको कमी भने प्रष्ट देखिन्छ।
समयमै उनले आफूलाई राजनीति व्यक्तिका रुपमा उभ्याउन सक्नुपर्छ। आफ्नो विरोध र आलोचना भएको खण्डमा तत्काल जवाफ दिने र भाग्नेभन्दा पनि सामना गर्नुपर्छ।
भगौडा मेयर
सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र बागमती प्रदेश सरकारले हेटौंडामा स्थानीय तहका जनप्रतिनिधिका लागि अभिमुखीकरण राखेको थियो।
उक्त कार्यक्रममा सहभागी हुन हेटौंडा पुगेका काठमाडौं महानगरपालिकाका मेयर बालेन साह उद्घाटन समारोहबाटै फर्किए। अभिमुखीकरण दुई दिनको भए पनि उनी पहिलो दिनको सत्रहरुमा पनि बसेनन्।
काठमाडौँ आएपछि उनले सामाजिक सञ्जालमा लेखे, ‘बागमती प्रदेशले आयोजना गरेको ‘काठमाडौं महानगरलाई गाली गर्ने कार्यक्रम’मा सहभागी भएर धेरै खुशी लाग्यो।’
साहले संघ र प्रदेश सरकारले गरेको कार्यक्रमलाई किन गाली गर्ने कार्यक्रमको संज्ञा दिए त ? उक्त अभिमुखीकरणमा सहभागी एक जनप्रतिनिधिका अनुसार बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले मन्तव्यमा राखेको धारणाप्रति बालेनले असन्तुष्टि जनाएका हुन्।
धादिङबाट प्रदेशसभामा निर्वाचित जम्मकट्टेलले काठमाडौंको फोहोर व्यवस्थापनको विषय उठाएका थिए। ‘काठमाडौंबासीको फोहोरको जिम्मा धादिङ र नुवाकोटका जनताले किन लिनुपर्ने? कुनै पनि हालतमा काठमाडौंको फोहोरको असर धादिङ र नुवाकोटको जनताले सहँदैन’ भन्ने अभिव्यक्ति दिएका थिए ।
बञ्चरेडाँडा क्षेत्रका वासिन्दाको अवरोधका कारण जेठको करिब २० दिन काठमाडौंको फोहोर उठ्न सकेको थिएन। सहरी विकास मन्त्रालयसँग स्थानीय वासिन्दाको सहमति भएपछि गत हप्तादेखि बञ्चरेडाँडामा फोहोर व्यवस्थापन सुरु भएको छ।
मन्त्री जम्मकट्टेलले आफ्नो मन्तव्यको अन्तिममा ‘काठमाडौंलाई सुझाव’ भन्दै काठमाडौंले बञ्चरेडाँडामा फोहोर लान नपाउने घोषणा गरेका थिए। काठमाडौंको फोहोरको विषयमा ०६३ सालको अन्तरिम व्यवस्थापिकामा चुनिएदेखि म धेरै लागेको छु। अहिले पनि म त्यही निर्वाचन क्षेत्रको बासिन्दा हो। त्यहीँको जनप्रतिनिधि हिसाबले म भन्दैछु काठमाडौंले अब बञ्चरेडाँडामा फोहोर लैजान पाउँदैन।’
उनले काठमाडौं महानगरपालिकाप्रति लक्षित गर्दै एउटा पालिकाले अर्को पालिकामा हस्तक्षेप गर्न नपाउने समेत बताए। मेयर साह भने मन्त्री जम्मकट्टेलले बोल्दाबोल्दै कार्यक्रम छाडेर निस्किएका थिए।
मेयरलाई नदेखिपछि उपमेयर सुनिता डंगोललाई सम्बोधन गर्दै मन्त्री जम्मकट्टेलले सुझाव दिए ‘अब काठमाडौंमा वडाबाट फोहोर व्यवस्थापन सुरु गर्नुस, कुहिने र नकुहिने फोहोर छुट्याउनु नै वडाको मुख्य काम हो भनेर जिम्मा लगाउनुस्।’
मेयर बालेन साहका स्वकीय सचिव भुपदेव साहले अभिमुखीकरण कार्यक्रम भनेर आरोप प्रत्यारोप हुन थालेपछि मेयर र उपमेयर कार्यक्रम छाडेर बीचैमा राजधानी फर्केको बताए।
‘बागमती प्रदेशका मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्षलाई अभिमुखीकरण कार्यक्रम भन्दै बोलाइएको थियो तर अभिमुखीकरण भन्दा धेरै गालीगलौज भयो’ बालेनको भनाइ उधृत गर्दै भुपदेवले भने, ‘हाम्रो राजनीतिक संस्कार कस्तो छ भनेर यसले पनि देखाउँछ। हामीलाई काम गर्ने समय नपुगिरहेको बेला यस्तो कार्यक्रममा किन बस्ने भनेर काठमाडौं आएको हो।’
बालेनले काठमाडौं महानगरपालिकाबासीको गाली खान तयार रहेको तर विना कारण अरुको गाली खानु परेको र कार्यक्रमको शीर्षकभन्दा असम्बन्धित विषयमा छलफल केन्द्रित भएकाले छोडेर हिँडेको बताएका स्वकीय सचिव साहले जानकारी दिएका छन्।