काठमाडौँ। युवा बाम बहस समूहले बामपन्थी एकताको लागि अभियान सुरू गर्ने भएको छ।
सो समूहले काठमाडौंमा आगामी असार १ गते ‘आजको बाम आन्दोलन र अबको बाटो विषयक’ बहस कार्यक्रम गर्ने भएको हो।
कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसाल प्रमुख वक्ता हुँदैछन्। त्यस्तै एमाले केन्द्रीय सदस्य टंक कार्की र लेखक तथा वाम वुद्धिजिवी मिना पौडेललगायतले सम्बोधन गर्दैछन्।
भुसालले यसअघि पनि धेरैपटक सार्वजनिक रूपमै वामपन्थी एकताको अपरिहार्य रहेको बताउँदै आएका छन्। उनले स्थानीय तहको निर्वाचन अघि पनि बामपन्थी दल एक ठाउँमा नभए उनीहरूले चुनाव हार्ने र त्यसको फाइदा नेपाली कांग्रेसलाई हुने बताएका थिए।
चुनावपछि उनले एमाले अध्यक्ष केपी ओलीको नेतृत्व शैलीमाथि प्रश्नसमेत उठाएका थिए। २०६४ सालमा तत्कालिन एमाले महासचिव माधवकुमार नेपालले निर्वाचनमा प्रतिकुल परिणाम आएपछि राजीनामा दिएको प्रसंग समेत भुसालले स्मरण गराएका थिए।
त्यसकै आधारमा भुसाललाई एमालेको अनुशासन आयोगले स्पष्टिकरणको लागि सिफारिससमेत गरेको छ। तर, एमाले सचिवालयको बैठकमा भुसालमाथीको कारबाहीको बारेमा कुनै बहस भएको छैन।