एमाले निर्मण: अन्तर्घात र असमझदारी छुट्टयाएर कारवाही



काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनबारे दुईथरी विश्लेषण गरेको छ।

पार्टी कार्यालय च्यासलमा सोमबार बसेको एमाले सचिवालय बैठकले चुनावबारे दुईथरी विश्लेषण गरेको हो। करिब ६ घण्टा बसेको बैठकमा एमालेले मुख्यगरी तीनवटा कार्यसूचीमा छलफल गरेर महत्वपूर्ण निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

चुनावका क्रममा सत्तापक्षले राज्यशक्तिको दुरुपयोग गरेर कतिपय स्थानमा स्वच्छ, मर्यादित र निष्पक्ष निर्वाचन गर्नुको साटो धाँधली गरेको भन्दै निर्वाचनमा सरकारले देखाएको प्रकृयाप्रति चिन्ता जनाएको यो पार्टीले पाएको मतका आधारमा प्रमुख शक्ति बनेकोमा खुसी व्यक्त गरेको हो।

तर, पालिका प्रमुख र उपप्रमुखमा २०७४ को तुलनामा सिट संख्या घटेकोमा भने एमालेले परिणामलाई अनपेक्षित भनेको छ। सिट संख्या घट्नुमा एमालेले दुई कारण रहेको ठहर पनि गरेको छ। ‘यो संख्या अपेक्षित होइन’, एमाले उपमहासचिव ज्ञवालीले बैठकको निष्कर्ष सुनाउँदै भने।

जसमा आन्तरिक र बाह्य कारण रहेको पनि उपमहासचिव ज्ञवालीको भनाई छ। उनले बाह्य कारणमा सत्तापक्षको धाँधली र समयमा पार्टीले उम्मेदवार छनोट गर्न नसक्नु, उम्मेदवारका आकांक्षीको उचित व्यवस्थापन गर्न नसक्नु, निर्वाचन परिचालन सही हुन नसक्नु र सोही कारण अन्तरघात हुनुलाई आन्तरिक कारणका रुपमा लिएको सचिवालय बैठकपछि बताए। ज्ञवालीले सत्तापक्षको घेराबन्दीका बीच पपुलर मत ३४ लाख पाएको भन्दै यसमा पार्टीले गर्ब गरेको बताए।

‘यावत घेराबन्दी र सत्ताको दुरुपयोगका बाबजुद ३४ लाख मत सहित एमाले प्रमुख शक्ति बनेको हो भन्ने स्थापित भएको छ, यसप्रति हामी गर्ब गर्छौ’, ज्ञवालीको भनाइ छ। सो पार्टीले निर्वाचनमा जनमत तलमाथि नभए पनि सिटमा भएको क्षतिबारे गम्भीर समीक्षा हुने जनाएको छ।

अन्तर्घात र असमझदारी छुट्टयाएर कारवाही

एमालेले केही ठाउँमा भएका अन्तर्घातका बारेमा प्रमाणित तथ्यका आधारमा अन्तर्घात गर्नेलाई कारवाही गर्ने भएको छ । बैठकपछि उपमहासचिव ज्ञवालीले प्रमाणित तथ्य र पार्टीलाई हराएको पुष्टि भए सम्बन्धित कमिटीले कारबाही गर्ने जानकारी दिए ।

‘पार्टीले कुनचाहिँ घात अन्तर्घात, कुनचाहिँ असमझदारी हो भनेर छुट्ट्याउँछ र सही धारमा पार्टी पङ्क्तिलाई राख्न पहल हुनेछ’, ज्ञवालीको भनाइ छ। बैठकले पार्टीको प्रतिष्ठालाई कमजोर गर्ने, पार्टीको विजयमाथि शंका हुने, मूल नेतृत्वमाथि अनास्था फैलाउने अभिव्यक्ति दिन नहुने निष्कर्ष पनि निकालेको ज्ञवालीले जानकारी दिए ।

भुसालबारे भएन छलफल

सोमबारको सचिवालय बैठकमा स्थायी कमिटी सदस्य घनश्याम भुसालमाथिको कारवाही सिफारिसबारे कुनै छलफल नभएको ज्ञवालीले जानकारी दिए। ‘अनुशासन कमिटीले कुनै प्रतिवेदन दिएको छैन। प्रतिवेदन नदिइकन त्यो एजेण्डा बन्ने कुरा भएन’, ज्ञवालीको भनाइ छ।