काठमाडौँ। आरोप लगाउने वकिलले चुहावट र चोरीको रेकर्डमा भर परेको भन्दै अमेरिकी न्यायाधीशले क्रिस्टियानो रोनाल्डो विरुद्धको बलात्कार अभियोगको मुद्दा खारेज गरेका छन्।
क्याथरिन मेयोर्गाले सन् २००९ मा म्यानचेस्टर युनाइटेडका फुटबलरले आफूलाई लस भेगासको होटलमा बलात्कार गरेको आरोप लगाएकी थिइन्। रोनाल्डोले सो आरोप अस्वीकार गर्दै आएका छन्।
मेयोर्गाले कथित रूपमा सन् २०१० मा अदालतबाहिर यस विषयमा सम्झौतामा पुगेकी थिइन्, तर अहिले उनले प्राप्त गरेको ३ लाख ७५ हजार डलरभन्दा लाखौँ बढी खोजिरहेकी छिन्।
घटनालगत्तै समझौता गर्न सहमत भए पनि आफ्नो भावनात्मक स्थितिले मध्यस्थता प्रक्रियामा भाग लिन अनुमति नदिएको र प्रस्ताव स्वीकार गर्न दबाब महसुस गरेको मेयोर्गाको तर्क रहेको छ।