काठमाडाैँ। राजधानी बाहिर बसेर लामो समयदेखि कविता लेख्दै आएका कवि नवीन अभिलाषीको ‘मौलामा बाँधिएको राँगो’ नामक कविता संग्रहको विमोचन भएको छ ।
कार्यक्रममा बोल्दै बरिष्ठ कवि तथा समालोचक डा अमर गिरीले संग्रहले बर्तमान समयको चेतलाई पछ्याएको बताउनुभयो। अहिले समाज मात्र नभएर साहित्यमा पनि धेरै समस्याहरु विद्यमान भएकाले त्यसलाई चिर्ने गरी कवि लेखकले कलम चलाउनु पर्ने बताउनुभयो।
‘अहिले समाज आफैमा क्षत विक्षत अवस्थामा त छ नै, साहित्य पनि त्यसबाट टाढा रहन सकेको छैन र त्यो नेपालको मात्र समस्या नभई विकसित मुलुकको साहित्यको प्रवृति पनि यस्तो देखिएको छ।’ डा.गिरीले भन्नुभयो, ‘कविमा इमान्दारीता हुनु जरुरी छ, लेखन एउटा अनुशासनको विम्व हो, त्यसलाई पछ्याउन सक्नुपर्छ।’
कवि नवीन अभिलाषी सचेतपूर्वक समाजका विविध पक्षमा काव्यभाव निर्माण गर्ने कविको रुपमा देखा परेको बताउनुभयो। कार्यक्रममा कविता संग्रहको समीक्षा गर्दै कवि, लेखक तथा समालोचक महेश पौड्यालले संग्रहमा मानव जीवनका उत्साह निरासा, आवेग र संवेगहरुको भिड रहेको बताउनुभयो।
सामाजिक परिवर्तनका लागि कविले आफ्नो कलम चलाउँदै गर्दा आफ्ना निरासाहरु समेत कवितामा व्यक्त गरेको बताउनुभयो। उहाँले निरासालाई उत्साहमा परिवर्तन गर्नु र समाजलाई सिकाउनु कविको अहम जिम्मेवारी रहेको बताउनुभयो। यस्तै कवि तथा लेखक सविता विमलीले सामाजिक मुद्धाहरु लेखनमा फरक रुपमा आइरहेको सन्दर्भमा यो कविता संग्रहले यथार्थतालाई टेकेर विचार र मुद्धाहरु उठाएको बताउनुभयो।
उहाँले एउटा मानिसले जीवनमा भोगेका विषयहरु त्यो समाजको व्यवस्थासँग ठोक्किने भएकाले समाजको व्यवस्था सुधार गर्ने पक्षमा कविता संग्रहले आवाज उठाएको टिप्पणी गर्नुभयो । कार्यक्रममा बोल्दै कवि नवीन अभिलाषीले कुनै तर्क नगरी यथार्थताको धरातलबाट आफुले कविता लेखेको बताउनुभयो।
उहाँले सिमान्त भूगोलमा बाँचिरहेका मानिसहरुको कथालाई कवितामा उल्लेख गरेको भन्दै सामाजिक व्यवस्थाको सुधारात्मक पक्षमा उभीएको बताउनुभयो । कवि अभिलाषीले तीन वटा कविता वाचन गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण सूर्य विसीले गर्नुभएको थियो । विएन पुस्तक संसारले प्रकाशन गरेको कविता संग्रह कवि अभिलाषीको तेस्रो संग्रह हो। पत्रकारिता गर्ने कविको यस अगाडी ईश्वरको अस्थिपञ्जर र एकात्म प्रकाशनमा छन्।