काठमाडौँ। नुवाकोटको ककनी गाउँपालिकामा त्रिशुली थ्री ए को प्रसारण लाइनमा चढेका व्यक्तिलाई करिब ८ घण्टापछि उद्धार गरिएको छ।
नेपाली सेनाको रेञ्जर गणको उद्धार टोलीले उनलाई प्रसारण लाइनमै नियन्त्रणमा लिएर भुइँमा झारेको हो। शनिबार विहान करिब ११ बजे ककनी गाउँपालिका ७ स्थित त्रिशुली(मातातीर्थ प्रशारण लाइनमा चढेका बेलकोटगढी नगरपालिका(१२ का माइला विक दिनभर प्रसारण लाइनको तारमा झुण्डिएर बसेका थिए।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दाले उनलाई प्रसारण लाइनबाट ओराल्ने कोशिस गर्दा पनि असफल भएका थिए। साढे ६ बजेतिर नेपाली सेनाको उद्धार टोली पुगेपछि उनलाई भुइँमा झारिएको नुवाकोटका प्रहरी प्रमुख रामप्रकाश शाहले जानकारी दिए। उनले भने, नेपाली सेनाको उद्धार टोलीले इक्वीपमेन्टसहित पोलमा चढेर उसलाई नियन्त्रणमा लिएर हामीलाई ह्याण्डओभर गरेको छ।’