काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले जनतामाथि भरोसा गर्नुपर्ने बताएका छन्।
शनिबार कामपा वडा नम्बर १५ का नव निर्वाचित जनप्रतिनिधिलाई बधाई दिँदै नेता खनालले एकीकृत समाजवादीले नीति, विधि, सिद्धान्त र विचारसँग जनताको भरोसा गर्नुपर्ने बताएका हुन्।
उनले भने, ‘विद्रोहबाट बनेको पार्टी आठ महिना पनि पुगेको छैन। तर, हामीले राष्ट्रव्यापि रुपमा कास र विस्तार गरेका छौं। क्राशः यसलाई सुदृढ गर्दैछौं। यहि बेला स्थानीय तहको निर्वाचनको सामाना गर्नुपर्यो। सम्पन्न निर्वाचनमा गठबन्धन गरेर जाने त भन्यौं। तर, न हाम्रो सम्मान भयो। न फाइदा भयो। जहाँ हामी एक्लै उभियौं। त्यहाँ सफलता हासिल गरेका छौं।
उनले अगाडि भने, ‘काठमाडौँ महानगरका ३२ वडा मध्ये १५ वडामा हाम्रो सिंगो टिम विजय भयो। यहाँ पनि गठबन्धन गरेको भए आज हामीले जे चिज प्राप्त गरेका छौं, त्यो पाउँदैन थियौं। आफ्ना विचार, कार्यक्रम, सिद्धान्त, रणनीतिहरु जनताको बीचमा लिएर जाँदा यहाँ हामीलाई जनताले विजय बनाउनु भएको छ। एकीकृत समाजवादीले जनतामाथि भरोसा गर्नुपर्छ। पार्टीको विधि, नीति, रणनीतिक लक्ष्य र सिद्धान्तमाथि भरोसा गर्नुपर्छ।’
२००६ सालबाट पुष्पलालको नेतृत्वमा अघि बढेको आन्दोलनको पहिलो चरण पास गरेको बताएका नेता खनालले भने, ‘२०६२/०६३ आएर हामीले जनवादी क्रान्ति सम्पन्न गर्यौं। हामीले यस देशबाट सामान्तवादीलाई उच्देछ गर्यौं। राजतन्त्रको अन्त्य गर्यौं। निरंशुक शासन व्यवस्था फाल्यौं। र मुलुकमा हामीले संघीय लोकतन्त्र स्थापना गरेका छौं। अब हामी समाजवादी क्रान्ति र रुपान्तरणको युगमा आएका छौं। एकातिर विकास र समृद्धिको कार्यभार पूरा गर्नुपर्ने र अर्कातर्फ रुपान्तरणका अभियान सञ्चालन गर्नुपर्ने छन्। त्यसका लागि हाम्रो पार्टीले त्यहि अनुरुपमा कार्यक्रमहरु तय गरेर अघि बढ्नुपर्छ।’