६ घण्टादेखि विद्युत प्रशारण लाइनमा पुरुष



काठमाडौँ। नुवाकोटमा एक पुरुषले विद्युत प्रशारण लाइनको तारमा झुन्डिएर हैरानी खेलाएका छन्।

शनिवार बिहान ९ बजे विद्युत प्रशारण लाइनको टावरबाट तारमा पुगेका उनी ६ घण्टादेखि तारमा हिँडिरहेको स्थानीय जयबहादुर तामाङले बताए। उनी नुवाकोटको बेलकोटगढी नगरपालिका १३ घले गाउँका माइला विक हुन्। विक २ सय २० केभीको प्रशारण लाइनमा हिँडिरहेका छन्।

उनी परिवारसँग झगडा गरेर बिजुलीको तारमा पुगेको स्थानीयले बताए। जयबहादुर तामाङले भने, ‘बिहान ९ बजेतिर तारमा पुगेर हिँड्न थालेछन्। हामीले तल भुइँमा मासु भात ल्याएर खान आउ भन्दा पनि अझै तारबाट ओर्लिएका छैनन्। २ जना पुलिस र चार पाँचजना स्थानीय छौँ। जति अनुरोध गरेपनि झर्न मानेका छैनन्।’

उनले विद्युत प्राधिकरणलाई पनि उद्धारका लागि अनुरोध गरेको बताए । मानसिक सन्तुलन गुमाएका उनले बिहान परिवारलाई खुकुरी देखाएर झगडा गरेको रामकृष्ण तामाङले बताए। विद्युत प्रशारण लाइनमा विक पुगेपछि विद्युत प्राधिकरणले माथिल्लो त्रिशुली थ्री ए को उत्पादन बन्द गरेको छ।